दाङ, तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेर हत्या गरिएका अर्का व्यापारी रणबहादुर घर्तीले बित्थामै उक्त घटनामा ज्यान गुमाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनलाई पनि श्रेष्ठसँगै अपहरण गर्ने अपहरणकारीहरुको पूर्वयोजना नहुँदा नहुँदै उनी अचानक घटनास्थलमा पुगेपछि गोपनीयता खुल्ने डरले सँगसँगै लगिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसपी दिवेश लोहनीले बताए।
'राजकुमारलाई कुरेर बसिरहेका बेला एक्कासि रणबहादुर पुग्दा उनी त्यही भुमरीमा परेको पाइएको छ,' एसपी लोहनीले सेतोपाटीसँग भने, 'अपहरणकारीलाई नचिनेको भए उनी बच्न पनि सक्थे।'
उनका अनुसार त्यस दिन जेठ २६ गते साँझ दाङका व्यापारी रणबहादुर भारतीय नम्बर प्लेटको गाडी चढेर सल्यान हुँदै रुकुम गइरहेका थिए। उनका साथमा दुई जना भारतीय नागरिक थिए। सल्यानकै कपुरकोट जंगल पुग्नेबित्तिकै उनी चढेको गाडी एउटा समूहले रोक्यो। यो त्यही समूह थियो, जुन राजकुमार श्रेष्ठलाई अपहरण गर्ने योजनासहित कुरेर बसेको थियो।
ती अपहरणकारीले रणबहादुरको गाडी नरोकेको भए पनि हुन्थ्यो। तर, एकाएक निर्धारित ठाउँमा अर्को गाडी आइपुगेपछि उनीहरु हड्बडाएर त्यसलाई पनि जबर्जस्ती रोके। दुवै जना भारतीय नागरिकलाई बेस्सरी कुटपिट गरे। मोबाइल खोसेर फुटाइदिए।
त्यही बेला अर्का व्यापारी राजकुमारलाई उनकै कारमा लिएर पूजा घर्तिमगर त्यहाँ पुगे। उनीहरुले त्यो कार रोकेर श्रेष्ठलाई अपहरणमा परेको जानकारी दिए। यो सबै घटना रणबहादुरकै आँखाअगाडि भएको थियो। उनी अधिकांश अपहरणकारीलाई चिन्थे पनि। उनलाई त्यत्तिकै छाडे रहस्य खुल्ला भन्ने डरले अपहरणकारीहरुले आफूसँगै लैजाने निधो गरे।
उनीहरुले त्यसपछि रणबहादुरसँगै आएका भारतीय नागरिकहरुलाई 'कसैलाई भनिस् भने बाँच्दैनस्' भनेर धम्की दिँदै दाङ फिर्ता पठाइदिए। राजकुमार र रणबहादुरलाई भने आफूसँगै माथि जंगलतिर लगे।
प्रहरीले यो घटनाका मुख्य योजनाकार तुलसीपुर उपमहानगरपालिका- ११, कटाहाका खुमबहादुर केसीसहित ९ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकाहरुले जेठ २९ गते श्रेष्ठलाई मार्नु एक घन्टाअघि रणबहादुलाई पनि मारेको बयान दिएका छन्। प्रहरीले श्रेष्ठको शव भेटिएको ठाउँ वरिपरि रणबहादुरको शव खोजिरहेको जनाएको छ।
प्रहरीले केसीसहित तुलसीपुर-८ निवासी २८ वर्षीय भूपेन्द्र अाेली, अपहरणमा सघाउने तुलसीपुर-६ स्याउली बजार बस्ने १८ वर्षीया पूजा घर्ती, उनका बाबु ३९ वर्षीय टिकाराम घर्ती र पूजाका मामा नाता पर्ने सल्यानका मानबहादुरलाई पक्राउ गरेको छ।
को हुन् अपहरणका मुख्य नाइके?यो अपहरण तथा हत्याकाण्डका मुख्य नाइके तुलसीपुर-११ का ३० वर्षीय खुमबहादुर केसी त्यस क्षेत्रका गुन्डानाइके हुन्। व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम उठाउने उनको काम हो।
एक वर्षअघि व्यापारी राजकुमार श्रेष्ठको ३१ लाख भारु उनले नै लुटेका थिए। त्यसपछि जेल परेर केही महिनाअघि मात्र छुटेका थिए। उनी नेपालगन्जमा पनि गोलीकाण्डमा पक्राउ परेर छुटेको प्रहरीले जनाएको छ। श्रेष्ठसँग टन्न सम्पत्ति रहेको थाहा पाएपछि फिरौती असुल्न उनले नै दुई महिनाअघि अपहरण योजना बनाएका थिए। आफू व्यापारी श्रेष्ठसँग परिचित भएकाले उनले सँगै जेल परेका साथी भुपेन्द्र ओलीलाई अह्राए। केसीले टिकाराम घर्ती, उनकी छारी पूजा र अन्य युवाहरु बटुलेर योजना बनाए।
योजनाअनुसार पूजाले श्रेष्ठलाई सल्यान जाने भन्दै बोलाएर अपहरण गरेकी थिइन्।