घटनाको आरोपमा पक्राउ परेका रमेश भन्ने मनबहादुर पुन, रुवत थापा मगर, अविराव महतरा र जमा पुनदाङका ब्यापारी राजकुमार श्रेष्ठलाई अपहरण गरी हत्या गर्ने टोलीका मुख्य योजनाकार काठमाडौंबाट पक्राउ परेका छन्। अपहरणका मुख्य योजनाकार खुमबहादुर केसीलाई महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले मनमैजुबाट पक्राउ गरेको हो।
हत्यामा सम्लग्न टीका घर्तिमगर र उनकी छोरी पुजा पनि भारतको सिम्लाबाट पक्राउ परिसकेका छन्। सिम्लाबाट पक्राउ परेकाहरुको वयानमा आधारमा काठमाडौंमा लुक्दै आएका केसीलाई प्रहरीले पक्राउ गरेको हो।
केसी यसअघि पनि नेपालगंजमा आपराधिक कृयाकलाप गराएको भन्दै जेल परिसकेका व्यक्ति हुन्। उनले २ महिनाअघि ब्यापारी श्रेष्ठको अपहरणको योजना बनाएको प्रहरीले बताएको छ।
'पर्दा पछाडि बसेर केसीले काम गरेका थिए,' अपराध अनुसन्धानमा खटिएका एक अधिकारीले भने, 'श्रेष्ठको अपहरण कसरी गर्ने र को को परिचालन गर्ने भनेर उनले नै मान्छे खोजेका थिए।'
पक्राउ परेका केसीलाई आजै दाङ पठाउने तयारी भइरहेको छ।
पुजाले जेठ २६ गते श्रेष्ठलाई फोनमा ‘सल्यान घुम्न जाउँ’ भनेर ब्यापारी श्रेष्ठलाइ बोलाएकी थिइन्। श्रेष्ठ त्यसपछि तुलसीपुर बजार पुगे। त्यहाँबाट दुवै जना कारमा चढेर सल्यानतिर लागे।
एक घन्टा ड्राइभ गरेर कपुरकोट भन्ने ठाउँमा पुगेपछि उनलाई अपहरण गरिएको प्रहरीले जनाएको छ।
अपहरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ । यस अघि रमेश भन्ने मनबहादुर पुन, रुवत थापा मगर, अविराव महतरा र जमा पुनलाई पक्राउ गरिएको दाङका एसपी धीरजप्रताप सिंहले जानकारी दिए।
प्रहरीका अनुसार अपहरणकारीले श्रेष्ठको परिवारलाई फोन गरेर तीन करोड रुपैयाँ फिरौती मागेका थिए। अपहरणकारीले श्रेष्ठको आवाजमा ‘म सञ्चै छु, मागेको रकम दिनू’ भन्ने कुरा रेकर्ड गराएर परिवारलाई सुनाएका थिए।
परिवारका सदस्यले फिरौती रकम बुझाउन मञ्जुरी जनाउँदा जनाउँदै उनको हत्या भएको हो। प्रहरीका अनुसार रिम जंगलसम्म अपहरणकारीले श्रेष्ठको गाडी प्रयोग गरेका थिए। अपहरण भएको तीन दिनसम्म निरन्तर जंगलमा हिँडाएका थिए।
उनले तीन दिनसम्म केही खान पाएका थिएनन्। मधुमेहका बिरामी श्रेष्ठ जंगलको बाटो लगातार हिँड्दा थाकेर बेहोस भएपछि ढुंगाले किचेर हत्या गरिएको पक्राउ परेकाहरूले बयानमा बताएका छन्।