केही वर्षअघिसम्म राष्ट्रिय पोशाकको मान्यता पाएको दौरा सुरुवालले अहिले गुमाइसकेको छ। यद्यपि, यसको लोकप्रियतामा भने कुनै कमी आएको छैन। पछिल्लो समय यसको प्रयोगकर्ताहरु बढीरहेका छन्।
बीचमा लगभग लोप भइसकेको दौरा सुरूवालको चलन आजकाल फेरि देखिन थालेको छ। बिशेषगरि विवाह, ब्रतवन्ध लगायतका कार्यक्रममा दौरासुरुवाल लगाउने युवाको संख्यामा भने उल्लेख्य सङ्ख्यामा बृद्धि भएको बाङ्गेमुडा स्थित राष्ट्रिय दौरा सुरुवाल पसलका सञ्चालक हिरा बहादुर शाक्य बताउँछन्।
चारपाँच वर्ष अघिसम्म पनि विवाहमा जन्तिको त कुरै छोडौं, बेहुलाले समेत कोट पाइन्ट लगाउँथे। तर, अहिले अधिकांश बेहुलाले ढाकाको दौरा सुरुवाल लगाउन थालेका छन्। व्यवसायीहरु भन्छन्– युवाहरुले पनि यस्तै अबसरका लागि भनेर दौरा सुरुवाल सिलाउने गरेका छन्।
विवाहको सिजनमा एक महिनामै करिव १ हजार वटासम्म दौरा सुरुवालको अर्डर आएको शाक्यको अनुभव छ।
साधारण दौरा सुरुवालको सामान्यतया १ हजार ४ सय देखी ५ हजार सम्म पर्ने शाक्य बताउँछन्। बेहुलाले लगाउने ढाकाको दौरा सुरुवाल भने १५ हजार सम्म पर्न सक्छ।
उनी भन्छन्, “सरकारी कर्मचारीले अनिवार्य दौरा सुरुवाल लगाउनु पर्ने बेलामा पाको उमेरकाले धेरै दौरा सुरुवाल लगाउँथे तर अहिले बच्चा र युवाहरुको सङ्ख्या धेरै छ।”
विवाह, ब्रतवन्ध, दिक्षान्त समारोह आदि कार्यक्रममा दौरा सुरुवाल लगाउने फेसन चलेकोले आफुले दौरा सुरुवाल सिलाएको नयाँ बानेश्वर, थापागाँउका २२ बर्षीय अमृत बस्नेत बताउछन्। भन्छन्, “दौरा सुरुवाल दिनदिनै लगाएर हिँड्ने कुरा आएन, विवाह तथा अन्य औपचारिक कार्यक्रममा दौरा सुरुवाल लगाउनु फेसन जस्तो भई सक्यो र यो फेसनले आगामी सन्ततीलाई नेपाली पोशाकको ज्ञान पनि दिन्छ।”
विदेश जाने धेरै नेपाली युवाहरुले दौरा सुरुवाल सिलाउने गरेको व्यवसायीहरु बताउछन्। बिशेषत युरोप, अमेरिका, अष्ट्रेलिया, कोरिया आदि देश जाने युवाले दौरा सुरुवाल सिलाउने गरेका छन्।
चितवन स्थायी घर भएका सन्तोष अधिकारीले नेपालमा हुदा कहिल्यै दौरा सुरुवाल नलगाए पनि अमेरिका जानुभन्दा पहिले भने दौरा सुरुवाल खरिद गरे। विदेशमा नेपाली कार्यक्रम हुँदा लगाएर जानको लागि दौरा सुरुवाल सिलाएको अधिकारी बताउछन्।
फेसनको श्रेय सामाजिक सञ्जाललाईदौरा सुरुवाल फेसन बन्नुमा सामाजिक सञ्जालको ठूलो हात रहेको छ। पmेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालले गर्दा पनि दौरा सुरुवाल लोकप्रिय बन्न पुगेको धेरैको अनुमान छ।
विभिन्न कार्यक्रममा दौरा सुरुवाल लगाइएको फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गर्ने लहरले दौरा सुरुवाललाई फेसन बन्न सघाउ पुगेको हो।
युवाहरुले फेसनको लागि मात्र दौरा सुरुवाल लगाएता पनि यो पोशाकको जगेर्ना गर्नमा योगदान भने पुगेको छ।
दक्ष जनशक्तको अभावपछिल्लो समय दौरा सुरुवालको माग बढे पनि दक्ष जनशक्ति भने निकै कम भएको व्यवसायीहरु बताउँछन्। दौरा सुरुवालको लागि चर्चित राजधानीको बाङ्गेमुडामा मात्र ५० वटाभन्दा धेरै टेलर्स छन्। तर, निकै कममा मात्र दक्षता भएको शाक्यको अनुभव छ।