साउदी सरकारले कानुनी कागजपत्र नभएका विदेशीलाई घर फर्कन दिने (आममाफी) को समय फेरि ३० दिन थप गर्ने भएको छ।
यसअघि मार्चबाट सुरु भएर ९० दिनको त्यस्तो माफीको अवसर दिएको साउदी सरकारले फेरि एक महिनाको समय थप गर्ने भएको समाचारहरुमा जनाइएको छ।
अवैध रुपमा साउदी पुगेका, अकामा परिचय पत्र नभएका वा रिन्यु नभएका, भिजिट भिसा वा धार्मिक भ्रमणको लागि साउदी गएर त्यहीँ बसेका, कम्पनी छाडेर भागेका र रोजगारदाताले भागेको भनि प्रहरीमा खबर गरेका यो प्रक्रियामा सहभागी हुन पाउने छन् ।
गम्भीर प्रकृतिको मुद्दा लागेका र मुद्दाको फैसला नभएका आप्रवासी भने फर्किन पाउने छैनन्। फर्किनका लागि कुनै शुल्क लाग्ने छैन। साउदी सरकारले आफ्नै खर्चमा पठाउने छ । कुनै जरिवाना समेत लाग्ने छैन । यसरी फर्किने कामदार फेरि साउदी जान पाउने छन्।
ठुलो संख्यामा नेपालीहरुपनि साउदीमा गैरकानूनीरुपमा बसिरहेको अनुमान गरिएको छ। थपिएको माफीको समय भने जुन २५ बाट गणना हुने साउदी सरकारले जनाएको छ।