प्रहरी उपरीक्षक (एसपी)बाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा हुन अव सुरक्षा कोर्ष गर्नुपर्ने भएको छ। गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले एसपीभन्दा बढुवा हुनका लागि नयाँ प्रावधान अघि सारेका छन्।
नेपाल प्रहरीमा बढुवा पाददर्शी नभएपछि गृहमन्त्री शर्माले सुरक्षा विज्ञहरुसँग छलफल गरी एसपीभन्दा माथि बढुवा हुनका लागि निश्चित पाठ्यक्रममा आधारित सुरक्षा कोर्ष पास गर्नुपर्ने नयाँ नियम ल्याएका हुन्।
सुरक्षा कोर्ष फेल भए बढुवा रोकिने गृह मन्त्रालयले जनाएको छ। नेपाल प्रहरीमा हाल विद्यमान रहेको कार्यसम्पादन मुल्यांकन पद्धतिलाई समय सापेक्ष वैज्ञानिक एवम् व्यवहारिकसमेत हुने गरी परिमार्जन गर्ने पनि मन्त्री शर्माले बताए।
स्पष्ट र पारदर्शी वृत्ति विकास तथा सरुवा प्रणाली नभएकाले प्रहरी संगठन भत्किएको, प्रभावशाली व्यक्ति र निकायका ढोका चर्हान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरिने गृहमन्त्री शर्माले बताए।
बढुवाको स्पष्ट नीति बनाइ पद खाली भएको एक महिनाभित्र बढुवा प्रक्रिया अघि बढाइने गृहमन्त्री शर्माले प्रतिबद्धता जनाए। सुरक्षा निकायभित्र रहेको सेवा अवधि विवादको अन्त्य गर्ने उनले घोषणा गरे।
पदपुर्तिका सम्बन्धमा प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुदाँ ४० प्रतिशत र प्रहरी निरीक्षक पदमा खुलाबाट ६० प्रतिशत लिइदैँ आएकोमा बढुवालाई सहज हुने गरी परिमार्जन गर्ने मन्त्री शर्माले प्रतिबद्धता जनाएका छन्।
लामो समयसम्म एउटै दर्जामा काम गर्दा नैराश्यता छाउने भन्दै गृहमन्त्री शर्माले प्रहरी हवल्दार र प्रहरी जवानको वीचमा सहायक हवल्दार र प्रहरी नायव निरीक्षक र प्रहरी निरीक्षकको वीचमा प्रहरी वरिष्ठ नायव निरीक्षक पद थप्ने गृह मन्त्रालयले जनाएको छ।
कुनै पनि प्रहरी कार्यालयको इन्चार्ज भएर जान अप्रेसन एण्ड कमाण्डम्यानेजमेन्ट तालिम लिएर मात्र जानुपर्ने नयाँ नियम पनि गृह मन्त्रालयले लगाउने जनाएको छ।
भूकम्पपछि कतिपय प्रहरी भवन भत्किएको, प्रहरी भवन नभएको, प्रहरीहरु सुत्न नपाएको अवस्थामा अहिले छाप्रोमा रहेका प्रहरीलाई नयाँ भवन बनाइ ब्यारेकमा बदल्ने गृहमन्त्री शर्माले बताए। प्रहरी कर्मचारीमा रिक्त रहेको पदपुर्ति थप्ने र ड्युटी आवरभन्दा बढी समय प्रहरीलाई काममा लगाउन नपाइने नियम लगाइने मन्त्री शर्माले बताए।