पछिल्लो समय देशमा एउटा ट्रेण्ड नै चलेको छ विदेसिएका व्यक्तिलाई होच्याउने, नानाभाती गाली गर्ने, पलायनवादी भन्नेदेखि विभिन्न फोटो र ट्रोल बनाएर अपमानित गर्ने।
यस्तो लाग्छ समसामयिक परिस्थिति र स्वदेशको वर्तमान स्थितिका बारेमा बिदेसिएका नागरिकलाई आफ्नो राय राख्ने अधिकारनै छैन। केही टिप्पणी त यस्ता पनि भेटिएकि ‘पलायनवादी र अवसरवादीले देशको चिन्ता मानेजस्तो गरेर गोहीका आँशु झार्दै छन्’, भन्ने सम्मका।
आजभोलि फेसबुक र अन्य सामाजिक सञ्जालमा केही फोटो र भिडियो भाइरल बनेका छन्। परदेश अझै भनौ विद्यार्थी भिसामा युरोप, अमेरिका, जापान र अस्ट्रेलिया गएकालाई तिखो प्रहार गरिएको छ जहाँ अमेरिका गएका ब्यक्ति ट्वाइलेट सफा गर्ने, अस्ट्रेलिया गएका भाडा धुने, जापान गएका कुकको काम गर्छन् भन्ने सम्मका राय भेटिन्छन्।
पछिल्लो ट्रेण्ड विदेश पलायन भएकाप्रतिको आक्रोश हो कि उनीहरूको प्रगतिको डाहा हो बुझ्नै गाह्रो छ। हो हामी नेपाली गरिब छौ, स्वदेशमा रोजगार छैन, गुणस्तरीय पढाई छैन र पढ्ने वातावरण पनि छैन, यो अवस्थामा गुणस्तरीय उच्च शिक्षा पनि पाइने, केही कमाइ पनि हुने अनि भविस्यमा उतै सेटल पनि हुन सकिने आसमा धेरै युवाको रोजाइ विदेस हुने गरेको छ।
हामीले स्वदेशमा जे सिक्यौ, नेपालमा जे पढेर ज्ञान हासिल गर्यौ त्यति ज्ञानले न त यहाँ सहजै काम पाईन्छ न सोचे जस्तो काम र कमाइ नै गर्न सकिन्छ। यहाँको प्रविधि र जीवनशैली हेर्दा लाग्छ हामी ढुङ्गे युगका आदि मानव हौ। न भाषा, न हातमा कुनै सिप, न कुनै अनुभव अनि कसले किन दिन्छ हामीलाई घुम्ने कुर्सीमा बस्ने जागिर, कसले कदर गर्छ हामीले नेपालमा सिकेको कोरा ज्ञान को।
प्रतिकुल परिस्थितिका बावजुद केही नेपालीले राम्रै प्रगती गरेका उदाहरण पनि छन् र अर्को कुरा एउटा असल चालक बन्नलाई पहिला सहचालक बन्नै पर्छ र पो धेरै जानकारी राख्ने कुसल चालक बन्न सकिन्छ।
युरोप अमेरिका अस्ट्रेलियाजस्ता ठाउँमा संसारको हरेक कुनाबाट राम्रो काम र अवसरको खोजीमा धेरै मानिस आइरहेका हुन्छन् र यस्तो ठाउँमा संसार भरिका मानिससँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। नेपालीमा एउटा उखान छ, ‘पहिला टिक्नुपर्छ अनि सिक्नु पर्छ अनि मात्र बिक्न सकिन्छ’, हामी पहिले नै बिक्न खोज्छौ अनी कसरी सम्भव हुन्छ।
एउटा दक्ष सेफ हुनलाई कुक हेल्पर हुनैपर्छ त्यो सामान्य नियम पनि हो। नेपालको परिप्रेक्ष्यमा युरोप अमेरिका आउने भनेका मध्यम वर्गका मानिस मात्र हुन्छन् जसले प्रायः नेपालमा केही काम गरेका हुँदैनन् अर्को कुरा स्टुडेन्ट भिसामा आउने व्यक्ति २०/२२ वर्षको प्राय केही सिप नजानेका व्यक्ति हुने गर्छन् अनि तिनले सुरुमा भाडा नमाझेर के काम पाउलान् त, त्यो सहजै अनुमान गर्न सकिने विषय हो।
नेपाल सधै किन पछाडि पर्यो पहिला त्यो बुझ्नु जरुरी छ। हामी गर्वका साथ भन्छौं म त सम्पन्न परिवारमा जन्मेको मान्छे, घरमा केही काम गर्न परेन , सुखै सुख मा हुर्के त्यसैले गार्हो काम गर्न सक्दिनँ। श्रम गर्ने, ज्याला मजदुरी गर्ने मानिस दुःखि र बसी बसी बाउको कमाइ खाने मान्छे सुखी देख्ने संस्कारबाट आएका मानिस हौं हामीहरू।
तर, विदेश त्यस्तो हुँदैन। न यहाँ कुनै काम सानो ठूलो भन्ने हुन्छ न त यहाँ १८ वर्ष काटेको मानिसलाई बाउ आमाले पाल्छन्। श्रमप्रति सम्मान अनि जस्तो सुकै काम पनि गर्न पछि नपर्ने र आफ्नो खुट्टामा आफैं उभिनुपर्छ भन्ने सोच विदेसका मानिसका अनुकरणीय पक्ष हुन्।
सर्वप्रथम त एक जना ब्यक्ति जुन सपना देखेर युरोप अमेरिका भासिन्छ त्यहाँ पुगिसके पछाडि ऊ सपनाको संसारबाट यथार्थ धरातलमा उत्रिन्छ अनि देख्छ विदेश कस्तो हुँदोरहेछ। विदेशको यथार्थ यो हो कि यहाँ जो सुकै होस काम नगरी खान पुग्दैन, ठाउँ अनुसार काम गाह्रो सजिलो, कमाइ धेरै थोरै हुन सक्ला तर काम नगरी कलेज फी तिर्न खान बस्न पुग्दैन।
अनि ऊ आफू कहाँ छु कुन अवस्थामा छु अरुलाई बताउन सक्दैन क्रमशः निरास हुन्छ अनि घरपरिवार र साथी भाइलाई पनि यथार्थ अवस्था बताउन चाहदैन।
मानव जीवन संघर्षको शृंखलानै हो तर पनि विदेशमा स्थापित हुन गर्नुपर्ने संघर्ष कठीन छ। फरक परिवेष, भाषा को समस्या, आफूले जुन सपना देखेर आएको छ त्यो र बास्तविकतामा देखिने ठूलो खाडल जसले मानिस आधा कमजोर बनिसकेको हुन्छ, निरास हुनपुग्छ। अमेरिकामा ट्रम्पको उदयसँगै अब सारा विश्वमा आप्रवासीलाई हेर्ने नजर बदलिएको छ। विश्वका धेरै देशले आप्रवासी सम्बन्धी नीतिमा कडाइ गर्ने नीति बनाउँदै छन्।
अब विदेशमा गएर सहजै धन कमाउने, पेपर बनाउने सपना जो कोहीलाई भारी पर्न सक्छ।
नेपाल रेमिटेन्सले धानिएको मुलुक हो। विदेशबाट पैसा नपठाए अर्थतन्त्र धरासायी हुन्छ। तपाईँ हाम्रा कोही न कोही विदेश छन् र पो हामी ठाटको जीन्दगी बाँचेका छौ, पछिल्लो पुस्ताको प्रविधिसँग अभ्यस्त बनेका छौ। विदेशमा भएका जो कोहीलाई हामी सजिलै भन्दिन्छौ मलाई यो पठाइदेउ त्यो पठाइदेउ अनि त्यै विदेसमा ट्वाइलेट् सफा गरेर, जुठा भाडा माझेर कमाएको पैसाले किनेर पठाएको आइफोनबाट हामी फेसबुकमा स्टाटस लेख्छौं पलायनवादीहरू देश वृद्घाश्रम होइन। अनि आफ्नो विदेश जाने भिसा नलागेसम्म विदेश भएकालाई नानाभाती कुरा गरेर होच्याउने गर्छौ जबकी
युरोप अमेरिका जाने अवसर पाए हामी सबै रास्ट्रवाद भुलेर पहिला खुट्टा उचाल्छौ।
अब त यस्तो लाग्छ देशभक्ति त्यति बेलासम्म जिवित रहन्छ जबसम्म डिभी पर्दैन , तबसम्म युरोप अमेरिकाको भिसा लाग्दैन।
आफ्नो देश छोडेर बिदेशिने रहर कसलाई पो हुन्छ होला र। देशमा अवसर नभएर होस वा महत्वकांक्षी बनेर होस आज नेपालबाट मात्र होइन, सारा विश्वमा मानिस एक मुलुकबाट अर्को मुलुक जाने गर्दछन्। देशमा बस्दिँदैमा मात्र देशभक्त बिदेश जाने बित्तिकै अवसरवादी हुन्छ भन्ने बुझाइ बदल्नु जरूरी छ। विदेशबाट पठाएको रेमिटेन्सले धानिएको मुलुकमा त झन ति ब्यक्तिले अर्काको माटोमा आफ्नो रगत पसिना बगाएर भित्र्याएको रेमिट्यान्सको सम्मान हुनु जरूरी छ बरू त्यो पैसा देस विकासमा कसरी प्रयोग गर्ने भन्नेबारे राज्यले नीति बनाउन जरूरि छ।
केही ब्यक्ति विदेश बसेर कमाउने बाँकि स्वदेसमा त्यही पैसाले रमाउने परिपाटीको अन्त्य गर्दै देशलाई विकास निर्माणको चरण मा पुर्याउन जरूरी छ नत्र हाम्रा कयौ पुस्ताको निधारमा पलायनवादीको ट्याग टासिरहने नै छ।