दाङबाट १७ दिनअघि बेपत्ता पारिएका दुई व्यापारी राजकुमार श्रेष्ठ र रणबहादुर घर्तिमगरको अपहरणमा एक युवती र भारतीय पेशेवरहरु संलग्न रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखा टोलीको संयुक्त अनुसन्धानबाट उक्त कुरा खुलेको हो। श्रेष्ठ र घर्तिमगर जेठ २६ गते साँझदेखि बेपत्ता छन्।
‘एक जना युवतीलाई प्रयोग गरेर भारतीयहरुको संलग्नतामा यो अपहरण गरिएको अनुसन्धानमा फेला परेको छ,' संयुक्त टोलीमा रहेका एक प्रहरी अधिकृतले सेतोपाटीसँग भने, ‘ती युवतीले फोन गरेर श्रेष्ठलाई भेट्न डाकेको र त्यहीँबाट उनको अपहरण भएको देखिन्छ।'
जेठ २६ गते साँझ अपहरणमा परेका श्रेष्ठको कार हावा फुस्काएको अवस्थामा सल्यानको रिम जंगलमा भेटिएको थियो। कारमा लेडिज चप्पल पनि फेला परेको थियो। ती युवतीको नाम खुलिसकेको भए पनि अनुसन्धान जारी रहेकाले प्रहरीले थप बताउन चाहेन।
यसअघि जेठ दोस्रो साता दाङबाट अपहरणमा परेका एक व्यापारी मृत भेटिएका थिए। जग्गा व्यवसायी रत्न वली अपहरण परेको केही दिनपछि मृत अवस्थामा फेला परेका थिए।
प्रहरीले व्यापारीद्वयको खोजीमा 'भुन्टी' नामक कुकुरसमेत प्रयोग गरेको थियो। तर उनीहरुको अवस्था केही खुल्न सकेको छैन।
दाङबाट व्यापारी अपहरणमा परेपछि प्रहरीले अनुसन्धान निम्ति विज्ञ प्रहरीलाई त्यसतर्फ खटाएको छ। अनुसन्धान विभागले सिआइबी र महानगरीय अपराध महाशाखाको टोलीलाई दाङ पठाएको हो।
सिआइबीको टोलीमा एसपी दिवेश लोहनी, डिएसपी कृष्ण कोइराला लगायत छन् भने महाशाखाबाट एक दशकसम्म अपराध अनुसन्धानमा काम गरिरहेका सई गजेन्द्र रावल, जनक गिरी लगायतको टिम खटिएको छ। उनीहरुले दाङ, सल्यान लगायत जिल्ला पुगेर अनुसन्धान अघि बढाएको स्रोतले बतायो।
दाङका एसपी धीरजप्रताप सिंहले आफूहरुसँगै सिआइबी र महाशाखाको टोलीले व्यापारी अपहरणको घटना हेरिरहेको जानकारी दिए।
प्रहरीले २ सय प्रहरी परिचालन गरेर रिम जंगलभित्र खोजतलास गरे पनि अवस्था पत्ता लगाउन सकेन। प्रहरीले पत्रकार सम्मेलन गरी व्यापारी श्रेष्ठको जानकारी दिनेलाई १ लाख पुरस्कारको घोषणा गरेको छ।