मलाई जान्न मन छ
किन यति सुन्दर हुन्छन् आँखाहरू?
र किन हुँदैन
सबै आँखाहरूमा उस्तै सौन्दर्य?
किन हुन्छन्
निर्दोष आँखाहरूका भीडमा केही जोडा कपटी आँखाहरू?
उत्सुक आँखाहरूका बीचमा शङ्कालु आँखाहरू?
मायालु आँखाहरूकै मध्यमा क्रुर आँखाहरू?
म यतिबेला
ज्ञान र करुणाले हेरिरहेको लोकमा छु
र सोचिरहेछु
चारै दिशा फैलाएर प्रश्नवाचक आँखाहरू
युगौंदेखि एकटक के हेरिरहेछ स्वयम्भू?
किन निमेषभर पनि झिमिक्क गर्दैनन् ती आँखाहरू?
कि टोलाएको हो स्वयम्भू
टाढा-टाढासम्म फैलिएको ज्ञानको ज्योति देखेर?
गुम्लुङ्ग ओढेर करुणाको बर्को
हाँसिरहेका अनुहार देखेर?
कि देख्दै नदेखेर केही पनि?
म मेरै आँखाहरूले हेर्छु
कहीँ प्रतीक्षामा छन् आँखाहरू—
खुसीको, भविष्यको
कहीँ पर्खिरहेछन् आँखाहरू-
ममता, स्नेह;
कहीँ दौडिरहेछन् आँखाहरू—
तृप्तीको भोकमा;
कहीँ भाग्दैछन् आँखाहरू—
अभाव, असन्तुष्टीदेखि।
ठीक यति नै बेला
स्वयम्भूका आँखै अघिल्तिर चारो टिप्दैछ
भर्खरै प्वाँख हालेको एउटा परेवा
र माथि आकाशमा उडिरहेको छ चिल।
टप्प टिपिएपछि परेवा
भेट्न सक्छ स्वयम्भूका आँखाहरूले खोजिरहेको जवाफ
र बन्द हुन सक्छन् स्वयम्भूका आँखाहरू
सदाका निम्ति।