तराईको मिथिला गाउँलाई आड बनाएर बगिरहेको थियो सिरसिया खोला। भाइटिकाको भोलिपल्ट तृतीयाको साँझदेखि नै मिथिला गाउँको हरेक गल्लीमा छठको रंग छरिएको थियो। बगरको डिलमा घनाबाँसका सहारामा सजाइएका रंगीचंगी पन्डालहरू, केराका हरिया थाम र बालुवामा सजिएका माटाका दियाहरूसँगै झिलिमिली बत्तीले बस्ती र सिरसियाको बगर बेहुली झैँ सिँगारिएको थियो।
सबैको एउटै ध्याउन्न भोलिको व्रतालु रात थियो। प्रतीक्षाको घडीसँगै सुरु भयो छठीको रात। हावा पनि त्यो रात फरक लयमा बगिरहेको आभास हुन्थ्यो। भजनका स्वर, मादलको ताल र हाँसोका गुञ्जनसँग मिसिँदै रिमिक्स गरिँदै थिए युवा पुस्ताका दोहोरीहरू।
सूर्य अस्ताउँदै गर्दा महिलाहरू टोकरीमा ठेकुवा, भुसुवा, फलफूल र अन्य प्रसाद लिएर खोलातिर लागे। गीत गुन्जिन थाल्यो, ‘उठ् सूर्य देव, जय छठी मइया!’ गीतसँग आकाश पनि झन् उज्यालो हुँदै गयो।
त्यही भीडभित्र भेटिएका दुई पात्र हुन् सुनैना र दिपेश। उनीहरू आपसमा प्रेम गर्छन्। सुनैना दलित समुदायकी मधेसी युवती थिइन्। जसका आँखामा आकाश जस्तै गहिराइ थियो। दिपेश पहाडी ब्राह्मण परिवारका छोरा थिए। जसको अनुहारमा उज्यालोसँगै हृदयमा विद्रोहको ज्वार थियो।
उनीहरू दुवैलाई समाजमा जातीय विभेदको सीमारेखा कोरिएकोप्रति घृणा जागेको थियो। सुनैना र दिपेशले यो सिमाना भत्काउन वर्षौँदेखि संघर्ष गर्दै आएका थिए। उनीहरूको प्रेमले ती सिमाना पगाल्दै लगे पनि पूर्णतामा पुग्न सकेका थिएनन्।
सुनैनाको समाजमा जन्मभन्दा ठुलो मान्यता जातको हुन्थ्यो। उनलाई यो समाजको सांस्कृतिक विकृति, अन्धविश्वास र विभेदहरूका विरुद्ध आगो भएर उत्रिनुपर्छ भन्ने लाग्थ्यो तर समाजमा जेलिएर रहेको जालो मधेसको यो समुदायमा पुस्तौँदेखिको सरुवा रोग जस्तै थियो।
उनकी आमा सधैँ भनिरहन्थिन्, ‘छोरी, हाम्रो जात त तलको हो, पढेर के हुन्छ र? अन्त्यमा त विवाह दाइजो दिएरै गर्नुपर्छ।’
तर सुनैना भन्थिन्, ‘आमा, अबका छोरीहरू दाइजो दिएर होइन, शिक्षा र आत्मसम्मानका साथ विवाह गर्छन्। हामीले अबको पुस्तालाई दाइजोमा भुलिनबाट मुक्ति दिलाउनु पर्छ। अहिलेसम्मका मधेसका कयौँ कुटपिट र हत्या जस्ता घटनाहरू मधेसमा दाइजो र जातीय विभेदका कारण भएका छन्। जसले सिंगो मधेसी समुदायलाई नै बदनाम गरिरहेको छ। दाइजोकै निहुँमा कयौँ छोरीहरू जिउँदै जल्नुपरेको पनि छ। अब हामीले यो प्रथाको विरुद्ध लड्न साहस गर्नुपर्छ।’
उता, पहाडी मूलका दिपेश समाजशास्त्र अध्ययनको फिल्डवर्कका लागि मधेस पुगेका थिए। उनी ब्राह्मण परिवारको छोरो, तर उनको सोच फराकिलो र हृदय ठुलो थियो। उनी जात, दाइजो प्रथा र भाषालाई सीमारेखा बनाएर मान्छेहरू किन बाँडिएका छन् भन्ने गहिरो गरी बुझ्न र बदल्न चाहन्थे। छठ पर्वको बिदाको समय उनका लागि मिसन पूरा गर्ने कोसेढुंगा बनेर आयो।
दिपेश र सुनैनाको पहिलो भेट गाउँको सामुदायिक विद्यालयमा भएको थियो। दिपेश गाउँका बालबालिकालाई समावेशी शिक्षा कार्यक्रमबारे बुझाइरहेका थिए र सुनैना त्यही विद्यालयकी शिक्षिका थिइन्। पहिलो भेटमै दिपेशले सुनैनाको नजरमा देख्यो कि, एउटी युवती जसको आँखामा विद्रोह र प्रेम दुवैको उज्यालो झल्किएको थियो।
दिनहरू बित्दै गए। विद्यालय परिसरमै उनीहरूबिच संवाद बढ्दै गयो। किताबका पानामा लेखिएका विचारहरू, समाजका घाउहरू, र भविष्यका सपना, विद्रोह र परिवर्तनका चक्रीय सूत्रहरू उनीहरूले सँगसँगै बाँडे।
एक दिन, मिथिला गाउँको माटोमा टेकेर दिपेशले भन्यो, ‘सुनैना, मलाई त लाग्छ मधेस र पहाडबिचको सिमाना त मान्छेहरूले बनाएका हुन्। प्रेममा त न भाषा हुन्छ, न जातको सीमारेखा नै।’
सुनैनाले हल्का मुस्कानसहित उत्तर दिइन्, ‘तर समाजले हाम्रा नशामा पनि जात गनेर रगत छुट्टाउने कोसिस गर्छ दिपेश! म तिमीप्रति आकर्षित छु, तिमीलाई प्रेम गर्छु तर यो प्रेमले पूर्णता पाउन सजिलो छैन।’
जब गाउँलेहरूले सुनैना र दिपेशबीचको सम्बन्धबारे सुने, गाउँ नै हल्लियो।
‘मधेसी केटी र पहाडी ब्राह्मण केटो...!’
यो संयोजन नै अपवित्र ठानियो। बेलुका सुनैनाका बुबाले भने, ‘तैँले हाम्रो इज्जत खसालिस्! हाम्रो समाजमा छोरीले बाहिरी जातसँग बिहे गर्न पाइँदैन। समाजका मुखिया र महाजनहरूले थाहा पाए भने हाम्रो हालत के हुन्छ? हाम्रो त नाम निशाना नरहने गरी उठीबास लाग्छ छोरी।’
उता दिपेशको परिवारमा पनि त्यस्तै तिक्तता बढ्न थाल्यो। हाम्रो कुलमा मधेसी केटी? तर उनीहरूको प्रेमको दियो निभेन। सुनैनाले आफ्नो गाउँमा महिला सशक्तीकरणको अभियान सुरु गरिन्। उनी महिलाहरूलाई पढाउन थालिन्। दाइजो र विभेदका विरुद्ध सचेतना फैलाउन थालिन्।
दिपेशले पनि सामाजिक अभियान सुरु गरे। पहाड र तराईका युवालाई एकै मञ्चमा ल्याउने ‘एकता संवाद’ कार्यक्रम अघि बढाएर जनचेतनाको अभिवृद्धि गर्न लागिपरिरहे।
तिनीहरूको प्रेमले अब व्यक्तिगत नभई आन्दोलनको रूप लिन थाल्यो। समाजका पर्खालहरूमा उनीहरूको आवाजले बिस्तारै दरार बन्न थाल्यो।
‘आज छठको रात, आज रातभर जाग्राम बस्ने हो?’ सुनैनाले दिपेशतिर फर्केर मादलभन्दा माधुर्य स्वरमा भनिन्।
‘बस्ने त हो तर गीत गाउने तिमी हौ कि म?’ दिपेशले मुस्कुराउँदै भन्यो।
‘म गाउने, तिमी सुन्ने,’ उनले हल्का लजाउँदै भनिन्। त्यस मुस्कानमा दिपेशले समानताको उज्यालो र भविष्य दुवै झल्किएको देखे।
रात गाढिँदै गयो। खोलाको छेउमा जाग्राम सुरु भयो। महिलाहरू छठी माताको कथा गाइरहेका, पुरुषहरू मादल र ढोलमा ताल मिलाइरहेका थिए। हावाको झोक्काले कहिलेकाहीँ दियो निभाइदिन्थ्यो तर तुरुन्तै बालिन्थ्यो। कोही खोलैभित्र पसेर आधा शरीर नै डुबाउँदै निस्कँदै गर्दै थिए। कोही भजन गाइरहेका थिए। त्यही बेला सुनैनाको दियो निभ्यो। उनले अत्तालिँदै पानीमा हेरिन्। तर एक क्षणमै दिपेशले आफ्नो दियो लिएर उनको दियोमा बर्तन थपेर बालिदिए।
सुनैनाको कानमै गएर उनले बिस्तारै भने, ‘अब यो उज्यालो हामी दुवैको हो,’ त्यो उज्यालो पानीमा परावर्तित हुँदै, दुवैको अनुहारमा चम्किएको सबैले सहज देख्न सक्थे। जुन चमक नै जात भन्दामाथि टप्किएर एउटा प्रेमको साक्षी बनेर पहरा दिइरहेको थियो।
रातको अन्तिम प्रहरमा सुनैना चुपचाप आकाशतिर हेर्दै थिइन्। चन्द्रमा र दियो दुवै उज्याला थिए तर उनको मनको कुना अझै अधुरो र मधुरो थियो। उनले मनमनै भनिन्, ‘छठी मइया, यदि तपाईंको आशीर्वादले जात, दाइजो र हाम्रो समाजका भेदभावका तगाराहरू भत्काइदिने हो भने म यो व्रत जीवनभरका लागि अर्पण गर्नेछु।’
बिहान पख जब पूर्वतिर सूर्यको पहिलो किरण उदाउँदै थियो, व्रतालुहरू पानीमा उभिएर अर्घ्य दिइरहेका थिए। सुनैनाको अनुहारमा सुनौलो प्रकाश पर्यो।
दिपेशले त्यो झल्कोमा उसको भविष्य देख्यो र मनमनै प्रार्थना गर्यो, ‘छठी मइया, हाम्रो प्रेमलाई पनि यही उज्यालोको आशीर्वाद देऊ। समाजका अन्धकारहरू उज्यालोले ढाकिदेऊ। जो कि अबको पुस्ताका कुनै पनि प्रेमी प्रेमिकाले विभेदको सिकार बन्नु नपरोस्।’
सूर्य उदायो। गीत फेरि गुन्जियो। हावामा ठेकुवाको गन्ध थियो र मिथिला गाउँमा नयाँ सुरुवातको संकेत। त्यही बिहान एक खुला मञ्चमा उनीहरूले विवाह गरे। कुनै पुरोहितबिनाको, कुनै दाइजोबिनाको। केवल दुई थान माला र सिन्दूरको टिका साटासाट गरेर।
सुनैनाले भनिन्, ‘हामीले प्रेम मात्रै होइन, समानताको बियाँ पनि रोपेका छौँ।’
दिपेशले थपे, ‘जात होइन, चेतनाले देश बलियो हुन्छ।’
उनीहरूको विवाहमाथि थुप्रै विरोध पनि भयो तर त्यसै बिहान सिरसिया खोला किनार मिथिला गाउँका छोरीहरूको समूहले आफ्नो विवाहमा कसैले दाइजो नलिने घोषणा गरे।
सुनैना र दिपेशको प्रेम त्यस दिन केवल दुई आत्माको मिलन मात्रै रहेन। त्यो विभेद र दासताको विरुद्ध उठेको नयाँ बिहानीको किरण बन्यो। जहाँ सुनैना र दिपेशको आस्था र प्रेम मिलेर विभेदलाई जिते। छठी माताको दृष्टि चोखो प्रेममाथि पर्यो।
त्यो दृष्टिले समाजका सबै खाले अन्धविश्वास, विभेद र अन्धकार पखालिदियो। त्यही रातपछि सिरसिया खोलाको किनारको गाउँमा एउटा कथा सनसनी फैलियो, जुन प्रेमकथा हो ‘छठको रात’।