हामी त्यहाँ पुग्दा सिर्जना राउतका आँखा केही ओभाएका थिए। तर आँसुको दागले बनेको लेघ्रो भने उनका पुक्क उठेका गालामा प्रस्ट देखिन्थ्यो। अनुहारमा कुनै चमक थिएन, फुङ्ग उडेको थियो। कालो लामो कपाल निकै दिन नकोरिएजस्तो असरल्ल थियो। ओठ कलेँटी परेका थिए। आँखा सुन्निएर राताराता भएका थिए। उनी हलुङ्गो खालको भ्यांग्ल्याङ्ग सुरुवाल र खुकुलो खैरो भेस्ट लगाएर बसेकी थिइन्। माथिबाट यौटा सलजस्तो पातलो कलेजी रङको खास्टो पनि ओढेकी थिइन्।
उनका श्रीमान् विशाल राउतको मृत्यु भएको त्यो तेस्रो दिन थियो।
‘ए ईश्वरी भाइ पो आइपुग्नुभएछ’, पुरानो घरको पुरानो ढोका खोलेर उनले मलिन स्वरमा भनेकी थिइन्।
‘हजुर भाउजू’, ढोकाको कलबेल थिचेर मभन्दा ठीक अगाडि उभिएका ईश्वरी भट्टराईले जवाफ दिएका थिए, ‘बिहानै आउने भनेको, अलि नभ्याएर यतिखेर भयो।’
मैले घडी हेरेँ, त्यतिखेर बिहानको ९ बजेको थियो।
‘आउनुस् आउनुस्, भित्रै बसौँ न।’
जुत्ता बाहिर खोलेर हामी भित्र छि¥यौं। हामी अर्थात् ईश्वरी भट्टराई र म।
भित्र पसेपछि मैले देखेँ हामी पसेको कोठा सामान्य थियो। खासै फराकिलो पनि थिएन। एउटा छालाले मोडिएको र अर्को कपडाले मोडिएको छ जना बस्न मिल्ने दुईवटा निकै पुराना सोफा थिए। छालाले मोडिएको सोफाबाट पाप्रा उप्किँदै गएकाले त्यो निकै पुरानो लाग्थ्यो। बस्ने ठाउँ चाहिनेभन्दा गिलो भइसकेको थियो, जहाँ बस्यो त्यहीँ भासिने खालको। कपडाको सोफाबाट निस्किएको भुवा लट्टा परेर मसिना गाँठा भएको प्रस्ट देखिन्थ्योे। ती गाँठा काला र झन् काला हुँदै गएका थिए। गाँठामा रौँ पनि अल्झेका थिए। दुईवटा पुराना कुर्सी पनि त्यसैको छेउमा राखिएका थिए। एउटा टिभी दराज थियो। दराजको माथिल्लो खापामा राता चुरा, सिन्दुरको बट्टा र लिपिस्टिक राखिएको थियो। टिभी दराज माथिपट्टि उनीहरूको बिहेको फोटो र कतै घुम्न जाँदाको फोटो ठूलो बनाएर टाँसिएको थियो। बिहेको फोटोमा सिर्जनाले लजाएर अन्तै हेरेकी थिइन् भने अर्को फोटोमा दुवै मज्जाले हाँसेका थिए।
एकापट्टि कुनामा केही खेलौना मोटर, कार, ब्लक, कलर बुक र पेन्सिल थिए। त्यो देखेर घरमा पक्कै साना केटाकेटी पनि छन् भन्ने मैले अनुमान लगाएँ।
भुईंमा बिछ्याइएको गलैँचामा प्रशस्तै भुवा निस्केको थियो र मैलिँदै गएको थियो। ठाउँठाउँमा कपाल पनि टाँसिएको थियो।
उनी त्यही गलैँचामाथि घुँडा मारेर बसिन्। मैले उनीअघिको छालाले मोडिएको पुरानो सोफामा ज्यान बिसाएँ। म बसेपछि सोफाको पिँध धसक्क भासियो। ईश्वरी भट्टराई मेरै छेउमा अडेसिए।
हामीभन्दा पहिले नै त्यहाँ दुईजना महिला उपस्थित भइसकेका थिए। मोटो ज्यान भएकी चाहिं झ्यालपट्टिको कुर्सीमा बसिरहेकी थिइन्। रातो कुर्ता सुरुवाल लगाएकी उनी हातमा रेहेको स्मार्ट फोनमा औंला चलाइरहेकी थिइन्।
कपडाको सोफामा चाहिँ नीलो चोलो र पहेँलोमा हरियो बुट्टा भएको सारी लगाएकी एकजना अर्की महिला हातमा सेतो रुमाल लिएर बसेकी थिइन्। उनलाई वृद्धा भने पनि हुन्छ। गाला चाउरिएर लुँदा परेका थिए। पावरदार चस्मा लगाएकी थिइन्। कपाल झन्डै सबै फुलेका थिए। उनका आँखा भिजेका र सुन्निएका देखेपछि हामी छिर्नु अघिसम्म उनी रोइरहेकी थिइन् भन्ने मैले अनुमान लगाएँ। उनी बेलाबेला हातको रुमालले नाक पुछिरहेकी थिइन्।
हामी छिरेपछि पनि उनले सेतो रुमालले नाक छोपेर एकपल्ट निकै जोडले नाक सिँइँँ गरिन् र अनुहार बिगारेर नाक पुछिन्। त्यसरी नाक पुछ्दा नाकको टुप्पो रातो देखियो।
हामी भित्र छिरेपछि वातावरण एकछिन सुनसान भयो।
मोबाइल लिएकी महिला मोबाइल खेलाउनमै व्यस्त भइन्। के बोल्ने दोधारमा म कोठाको वतावरण अवलोकनमै लागेँ। भुईंमा बसेकी सिर्जना राउत हात बाँधेर निहुरिएरै बसिन्। बेलाबेला सुकेका ओठ आपसमा रगडेर थुकले भिजाएको मैले प्रस्ट देखेँ।
‘केही कुरा भयो त भाइ ?’, सिर्जना राउतले सल मिलाउँदे ईश्वरीजीतिर हेरेर वातावरणको शून्यतालाई चिरिन्।
अघिसम्म मोबाइल चलाइरहेकी मोटी महिलाको ध्यान पनि उनको कुरातिर खिचियो। उनले मोबाइल दाहिनेपट्टि राखिन् र हात बाँधेर बसिन्। हामी त के बहानामा कुरा गरौँ भनेर कुरिनै रहेका थियौँ।
‘हजुर’, ईश्जरीजी बोले, ‘म एक दुई ठाउँ फ्युनेरल होममा त गएँ, तर तिनेर्ले महँगो भने। आज दिउँसो अर्कोसित भेट्न टाइम लिएको छु।’
त्यसपछि फेरि उनले केही सोधिनन्। एकछिन वातावरण अघिकैजस्तो सुनसान भयो।
हिउँ परिसकेको थिएन। पात पहेँलिएर रूखको सौन्दर्य छुट्टै देखिएको थियो। वरिपरि पहेँला पात झेरर बाटो छपक्क थियो।
मैले देखेँ, ईश्वरीजीको कुरा सुनेपछि उनले दाँतले तल्ला ओठ चपक्क टोकिन्। जिब्रोले ओठ ओस्याइन्। लामो सास तानिन्। ओढिराखेको सललाई तानतुन पारेर मिलाइन्। सुन्निएका रसिला आँखाले हामीतिर हेरिन्। त्यतिखेर उनका आँखा टिलपिल टिलपिल भरिएका थिए।
उनले कलँेटी परेका आफ्ना ओठ आपसमा रगडेर एकपल्ट घुटुक्क थुक निलिन् र पर कतै हेरेर भनिन्, ‘मर्न पनि गाह्रो छ भाइ, आफ्नो माटोजस्तो नहुने रहेछ यो पराइ माटो। यतिखेर चाहिँ आफ्नै माटो र आफन्तको सम्झना हुने रहेछ। तर के गर्नु उहाँको लेखान्त र हाम्रो कर्म नै यस्तो रहेछ। कहाँ जन्मियौँ, कहाँ हुर्कियौँ, कहाँ भेटियौँ र अहिले कहाँ आएर छुट्टिनुप¥यो।’
ईश्वरीजी चुपचाप थिए। यस्तो बेला के भन्नुपर्छ म अप्ठेरामा परेँ र चुपचाप सोफामै बसिरहेँ।
विशाल राउतको खास नाम सिंहबहादुर राउत थियो। कक्षा ९ पढ्दै गर्दा उनले नाम बदलेर विशाल बनाएका थिए। नामजस्तो उनको ज्यान विशाल त थिएन तर शरीर अग्लो र सुगठित थियो। सधैँ दारीजुँगा काटेर सफाचट पार्ने उनी भन्थे, ‘यो ज्यान भन्ने कुरा जस्तो बनायो, त्यस्तो बन्ने रैछ। पल्टनमा हुँदा अलिक कसिलो थियो, अब त उमेर पनि बढ्दै गयो, ज्यान पनि सुक्दै गयो।’
उनी पूर्वी नेपालको धरानमा सामान्य किसान परिवारमा जन्मेका थिए। जीविकोपार्जनका लागि उनका पिता राममोहन राउतले चामल, दाल, तेलको होलसेल पसल चलाएका थिए। त्यो भेकमा उनको पसल चल्तीको थियो। राम्रै नाफा कमाएका थिए। राममोहनको पसलबारे प्रशंसा गर्नेको एउटै धारणा थियो, ‘उनी व्यापारमा इमानदार र उदार छन्।’
राममोहनका तीन भाइ छोरामध्ये विशाल कान्छा थिए। जेठा रुद्रबहादुर स्थानीय प्राथमिक विद्यालयमा शिक्षक थिए भने माइला कालिबहादुरले कक्षा १० पास गरेर पढाइ छाडेका थिए। उनी नजिकैको एउटा होटलमा कुकको काम गर्थे।
राममोहनको इच्छा थियो, अरूले धेरै पढ्न नसके पनि, नपढे पनि कान्छा छोराले पढिदेओस् र राम्रै पेसा अँगालिदेओस्। सानोतिनो पदमै भए पनि सरकारी जागिरे होस्। त्यति नभए शिक्षक र त्यो पनि नभए यही पसल धानेर बसिदेओस्। उनी बेलाबेला भन्थे, ‘हेर् सिंहेकी आमा, यसले कि सरकारी जागिर खाओस्, कि मास्टर होओस्। नभए यही पसल धानिदिए पनि मलाई लाख हुन्छ। तर बिनाकाम गीत गाउँदै लखरलखर नहिँडोस्। यसरी कसरी जिन्दगी चलाउन सक्छ यसले। भविष्यको बारे त पटक्कै सोचेकै छैन।’
स्कुल पढ्दादेखि नै विशालको रुचि संगीतमा थियो। स्कुलमा टेबुल बजाएर गाउँदागाउँदै उनलाई कतैबाट एउटा पुरानो गितार मिलेको थियो। साँझबिहान र फुर्सदमा छिमेकका साथी छिमलसित बसेर उनी गितारका तारमा आफ्ना औँला चलाइरहेका हुन्थे र भक्तराज आचार्यको गीतमा आलाप हालिरहेका हुन्थे,
हजार सपनाहरूको माया लागेर आउँछ....
खासमा उनको सपना के हो चाहिँ कसैले सोचेको र सोधेको थिएन। न स्कुलमा शिक्षकले सोधे, न घरमा बाआमा, दाजुभाइले नै। सोधेकै भए पनि उनीसित खास सपना थिएन।
कुरो राममोहनले सोचे र भनेजस्तो भएन। सिंहबहादुरबाट नाम बदलेर उनले आफूलाई विशाल बनाए। जब उनले यो कुरा घरमा सुनाए, राममोहनले झोँक्किएर भनेका थिए, ‘अब आफ्नो न्वारान आफैं गर्ने भइस् होइन ? छँदाखाँदाको सिंहबहादुर नाम बदलेर विशाल बनाइस् ? न्वारानको सिंहबहादुर नाममा के खराबी थियो ?’
त्यसको उत्तर सिंहबहादुर उर्फ विशालसित पनि थिएन। बस्, उनलाई विशाल हुन मन लाग्यो, नाम बदलिदिए र मनमनै सोचे, ‘खराबी त सिंहबहादुरबाट विशाल हुनुमा पनि त छैन।’
गाउने लत बढाए। गाउँदागाउँदै साथीभाइसित राति अबेरसम्म हराउने हुन थाले। त्यसैगरी बाबुको इच्छाभन्दा फरक रोजाइमा लागे। उनी गतिलो गायक पनि बनिसकेका थिएनन्। पसल बसेर राममोहनलाई सघाइरहेका पनि थिएनन्।
हल्लैहल्ला र लहैलहैमै एकाएक उनी एक दिन ब्रिटिस लाहुरेको परीक्षामा सहभागी हुन पुगे।
त्यसको कहानी अर्कै तर अत्यन्त सामान्य थियो। सगोलका साथी ब्रिटिस लाहुरेका लागि तयारी गरिरहेका थिए। छनोट परीक्षामा क्याम्प जानु केही हप्ताअघि छिमेकी राई साथीसित सोधेका थिए, ‘ओई, यो ब्रिटिस लाहुेर चाहिं कसरी भर्ना हुने होला हौ ?’
‘आबुई, त्यसका लागि त पूरा एक्सरसाइज गर्नुपर्छ हो, ह्याँ त टे«निङ क्याम्प पनि पो चलेको छ कि, मेरो सुड्डोले त मलाई क्याम्प पो हाल्देको छ त, अन्त।’
त्यसरी उनी ब्रिटिस लाहुरे हुने आशाले धरानमा चलेको तयारी कक्षामा बालुवाका बोरा, ढुंगा बोकेर कुदेका थिए। पुसअप, सिटअप, जिम गरेका थिए। आफूलाई सक्दो तन्दुरुस्त राख्न उनले बिहानै दुईवटा अन्डा, चना, दूध खाने गरेका थिए।
ब्रिटिस लाहुरेमा प्रायः गुरुङ, मगर, लिम्बू, राई मात्रै छनोट हुने गरेकाले आफू पर्छु भन्ने उनलाई विश्वास थिएन। छनोटको दिन आयो, उनले लिखित परीक्षा, अंग्रेजी भाषाको परीक्षा पास गरे। शारीरिक आभ्यासमा उनी अरूभन्दा अगाडि देखिए।
अन्ततः उनी ब्रिटिस लाहुरेमा छनोट भए।
यसरी क्यानडा जानुअघिका १७ वर्षसम्म उनी ब्रिटिस लाहुरे थिए।
ब्रिटिस लाहुरे भएको ३ वर्षपछि यौटा चिठीमा सिर्जनालाई उनले लेखेका थिए,
प्यारी,
हरदिन, हररात तिमीलाई सम्झिरहेको छु। बन्दुकको सिरानी हालेर बसेका हरेक छिन म तिमीलाई सम्झिन्छु। हामी हिँडेको विजयपुर खोला, बुढासुब्बाको मन्दिरमा हामीले बानेको धागो, बीपी अस्पतालको चौरमा हामीले बिताएका क्षण एकएक आँखामा नाच्छन्।
अब म तिमीलाई कुर्नै सक्दिनँ। आउँदो बिदामा म तिमीलाई बेहुली बनाएर ल्याउँछु, सानी।
तिम्रो पियारा
विशाल
यति चिठी पढेपछि सिर्जना राउतको मन एकतमासले कुतकुतिएको थियो। उनले हातको औंठी हेरेकी थिइन् जो विशालले जानुअघि सुटुक्क उनलाई दिएका थिए। विशालले दिएको एउटा रुमाल थियो। विशालको फोटो पनि उनको पर्समा थियो। त्यसदिन उनले टोलाएर निकैबेर त्यो फेटो हेरिरहिन्। तन्द्रामा उनलाई लाग्यो, उनीहरूको आजै मात्रै बिहे भएको छ र उनी बिहेको पहिलो रात विशाल राउतलाई कुरेर ओछ्यानमा बसेकी छन्।
यस्तो सोच्दा उनी लजाएकी थिइन्।
विशालले भनेजस्तै एउटा हिउँदको बिदामा आएपछि उनीहरूको बिहे भएको थियो। एक महिना सँगै बसेर विशाल फेरि लन्डन फर्केका थिए।
उनीहरूको प्रेम पनि अनौठोसित भएको थियो। दुवै एउटै स्कुल पढेका थिए। पढ्नमा विशाल तेजै थिए। उनको स्वरको जादुले सिर्जना त्यसै लट्ठिएकी थिइन्। सिर्जना लजालु थिइन्। कम बोल्थिन् तर पढाइमा उनी पनि अब्बल नै थिइन्। शिक्षकहरू भन्थे, ‘एसएलसीपछि सिर्जनाले साइन्स नै पढ्नुपर्छ।’
(उनले त्यो पढिनन्, नेपाली विषयमा बीएड गरिन्, त्यो अर्कै कुरा।)
स्कुले दिनकै भेटघाट नजानिँदो गरी, केही नभए जसरी प्रेममा बदलिएको थियो। स्कुल छुटेपछि उनीहरू विजयपुर जान्थे, बुढासुब्बा जान्थे। बीपी अस्पतालको चौरमा घन्टौँ भुल्थे। कहिलेकाहीँ त्यही चौरमा बसेर होमवर्क सक्थे। चटपटे र पानीपुरी सँगै खान्थे।
यसो भनौँ, उनीहरू ख्यालख्यालमै प्रेममा परेका थिए।
बिहे गरेको एक वर्षपछि सिर्जनाको पनि भिसा लागेको थियो, बेलायत। र उनीहरू जीवनका दिव्य १७ वर्ष लन्डन बसेका थिए।
एसएलसी दिएको वर्ष दिनमै लाहुरे भएकाले विशाल गाउँठाउँमा धेरै बस्न पाएनन्। बिदामा गएका बेला साथीसर्कलसित भेट हुन्थ्यो। आमा भन्थिन्, ‘मेरो कान्छो लाहुरे भयो। कहाँ पुग्छ पुग्छ। धित मर्ने गरी त मैले पनि हेर्न पाएको छैन।’
विशाल लाहुरे भएकामा राममोहन पनि खासै दुःखी थिएनन्। छोराले केही नगर्ला कि भन्ने पिर हटेको थियो। बिस्तारै उनको उमेर ढल्किँदै गएको थियो। विशालले बनाइदिएको सानो चिटिक्कको धरानको घरमा दुई बूढाबूढी बसेका थिए। दुईपल्ट त राममोहन जीवनसंगिनी लिएर छोराको निम्तो मान्न बेलायतै पनि पुगेका थिए। जीवन खुसीसाथ चलेकै थियो।
ब्रिटिस सेनाबाट उनले पेन्सन लिएर सेवा छाड्दा उनको उमेर बल्ल ३६ वर्षको थियो। उनी जवान नै थिए। चाहे त उनी बेलायत नै बस्न सक्थे। पहिलेजस्तै चन्चले बानी गएको थिएन। पेन्सन लिएर उनी नेपालै फर्के।
यही बेला उनलाई कसैले भन्यो, ‘उमेर छ, नयाँ अवसर पाइन्छ, जाऔं क्यानडा। यत्रो वर्ष ब्रिटिस आर्मी भएर त बिताइयो। अब क्यानडामा जीवन बिताऔं।’
जसरी उनी ख्यालख्यालमै ब्रिटिस लाहुरे भएका थिए, त्यसैगरी ख्यालख्यालमै उनले क्यानडाको आवासीय भिसा पाएका थिए र सन् २००१ को एक दिन आप्रवासी भएर क्यानडा आएका थिए।
केही समय उनले सेक्युरिटी काम गरे। केही समय रेस्टुरेन्टमा काम गरे। केही समय स्टोरमा क्यासियरको काम गरे। मन कतै अडिएन।
‘सधैँ कति अर्काको काम मात्रै गर्नु’, आएको केही वर्षसम्म उनी भन्थे, ‘अब आफ्नै केही काम थाल्छु।’
त्यसपछि उनले सरसफाइको सेवा दिने एउटा सानो अफिस खोलेका थिए। उनी विभिन्न कार्यालय, घर, कम्पनीको सफाइ ठेक्का लिन्थे र केही कामदारसहित आफू पनि लागेर त्यसैबाट उनको जीवन चलेको थियो। आफ्नै कम्पनीमा काम गर्ने बनाएर उनले माइलो दाइ कालिबहादुरलाई पनि क्यानडा बोलाएका थिए।
५ वर्षअघि क्यानडा आएको १२ वर्ष पुगेको उपलक्ष्यमा उनले एउटा घर किनेका थिए। श्रीमती, १३ र ५ वर्षका छोरासँगै हाँसीखुसी उनको जीवन बितिरहेको थियो। साथमा थपिएका थिए माइलो दाइ कालिबहादुर पनि।
प्रायः भेटिने नेपालीहरूलाई उनी भन्थे, ‘म यहाँ आउँदा नेपाली गन्न सकिने थिए, यसो ग्यादरिङ गरौँ न भन्दा पनि कोही भेटिँदैनथे। मर्दापर्दा सहयोग माग्न पनि आफ्नो समुदायको मान्छे भेट्न मुस्किल थियो। अहिलेजस्तो क्यानडा आउन सजिलो पनि त थिएन।’
वर्ष दिनअघि उनलाई एक्कासि बान्ता भयो। खाना अरुचि बढ्यो। बिस्तारै दुब्लाउँदै गए। हट्टाकट्टा ज्यान भएका विशालको अनुहारको चमक हराउँदै गयो। जिउ गल्ने, बेलाबेला पिसाब पोल्ने, दिसा राम्ररी नहुने भएपछि उनी डक्टरकामा गएका थिए।
‘कत्तिथोक जाँचेपछि ६ महिनाअघि डाक्टरले प्याङ्क्रियाजको क्यान्सर रहेछ भन्यो’, सिर्जनाले सुनाइन्, ‘त्यसपछि मैले जमिन भासिएजस्तो अनुभव गरेँ, उहाँ आँटी मान्छे हो तर त्यसपछि आँट हराएजस्तो हुनुभयो।’
औषधीले जेनतेन ठीक भइरहेको थियो, एक सातादेखि निक्कै च्यापेपछि अस्पताल भर्ना भएका थिए।
डाक्टरले भनेका थिए, ‘पूरै निको हुने गरी उपचार सम्भव छैन। औषधीले जति थेग्छ, थेग्छ।’
त्यो सुन्दा सिर्जनालाई सिस्नाका झाम्टाहरूले एकैपल्ट जिउमा हानेजस्तो भएको थियो र खतराको भयले छोपेजस्तो लागेको थियो।
अस्पताल भर्ना गरेको केही दिनपछि विशाल राउत उठ्नै नसक्ने भए। एकोहोरो हुने, मान्छे नचिन्ने हुन थाल्यो र ३ दिन अघिसम्म बोलिरहेका उनको एक्कासि बोली बस्यो।
त्यो दिन सिर्जना छेउमै थिइन्। विशालले बिस्तारै आफ्नो हातले सिर्जनाको हात समाते र उनी लल्याकलुलुक भए। सिर्जना राउतलाई यस्तो दिन आउँछ भन्ने त थियो, तर यति छिट्टै आउँछ भन्ने थिएन। तर आयो।
‘म बोलाउँदै थिएँ, उहाँ त गइसक्नुभएको रहेछ’, सिर्जनाले भनिन्, ‘मैले वरिपरि अन्धकार देखेँ। टाउको फुट्लाजस्तो भएर रिङ्गियो। अस्पताल हल्लिएजस्तो लाग्यो। त्यहीँ रुन थालेँ। कसलाई फोन गर्ने पनि हेक्का आएन। होस हराएजस्तो भयो।’
‘जे परे पनि सहनुपर्ने रहेछ, आफूलाई सम्हालेँ। चिनेजानेकालाई फोन गरेर अस्पताल बोलाएँ। अस्पतालमा उहाँको लास छाडेर म घर आएँ।’
यसो भन्दा सिर्जनाका आँखा रसाइसकेका थिए।
‘अब जे हुनु भइगयो। मेरो जीवनमा यस्तै लेखेको रहेछ। जसरी पनि अब मैले उहाँको अन्तिम संस्कार त गर्नैपर्छ।’
ईश्वरीजी र म फेरि अर्को शवदाहगृहमा कुरा बुझ्न त्यहाँबाट निस्कियौँ।
शवदाहगृहको हाकिमले भन्यो, ‘कागजपत्र बेलैमा प्रमाणित गर्न सकियो भने दुई हप्तामा प्रोसेस गरिदिन सक्छु। उनी क्यानेडियन नागरिकता लिएका व्यक्ति हुन् कि नेपाली नै हुन् ?’
‘उनले क्यानेडियन नागरिकता लिइसकेका छैनन्।’
‘ए, त्यसो भए नेपालको दूतावासले मृतक व्यक्ति नेपाली हो भन्ने प्रमाणित गरिदिनुपर्छ। शव पठाउने छुट्टै कानुनी प्रक्रिया छ। यौटा देशमा मरेको मान्छे यदि ऊ सम्बन्धित देशको होइन भने पठाउन मिल्दैन, हामी प्रोसेस गर्न सक्दैनौँ,’ उसले भन्यो, ‘पहिले त एम्बेसीमा उसको डिटेल्स पठाउनुप¥यो, एम्बेसीले प्रमाणित गरिदिएपछि बल्ल प्रोसेस सुरु हुन्छ।’
‘त्यसपछि अरू के गर्नुपर्छ ?’
‘सबै एयरलाइन्सले लास बोक्न मान्दैनन्। कुन एयरलाइन्सले लैजान्छ, हामी बुझ्छौं। उता नि लास बुझ्ने मान्छे वा संस्थाको पूर्ण विवरण मलाई चाहिन्छ।’
‘त्यो त दिउँला तर पैसा कति लाग्छ होला ?’
‘कम्तीमा १० देखि १५ हजार डलरसम्म लाग्न सक्छ’
‘अनि यहिँ अन्तिम संस्कार गर्ने हो भने चाहिँ ?’
‘त्यस्तै ५ हजारजति लाग्ला’
‘महँगै पर्ने रहेछ हगि ?’
फ्युनेरल होमको मेनेजरले महँगो सस्तोबारे केही जवाफ दिएन।
एकछिन वातावरण शान्त भयो।
‘हामीसित अस्पताल वा शवघरबाट यहाँसम्म शव ल्याउने सुविधा छ। शवलाई हामी नै सफासुग्घर गरिदिन्छौं। अनि हिन्दु भनेको होइन ? यहीँ अन्त्येष्टि गर्ने हो भने हामी हिन्दु संस्कारअनुसारको सामान पनि जुटाइदिन्छौं।’
उसले भनेको डिटेल्स बोकेर हामी अरू दुई तीन फ्युनेरल होममा बुझ्न गएका थियौँ। प्रायः सबैको जवाफ एकै थियो। फेरि हामी फर्केर पहिलेकै फ्युनेरल होममा पुग्यौँ।
‘परिवारसित सल्लाह गरेर हामी खबर गर्छौं, त्यसो गर्न मिल्छ होइन ?’
‘अवश्य, तर हामी निकै व्यस्त छौं, सकेसम्म एपोइन्टमेन्ट बुक गरिराखे राम्रो, यहाँ सतगत नगर्ने भएपछि एपोइन्टमेन्ट क्यान्सिल गरे पनि हुन्छ। संयोगले भोलिका लागि समय छ, भोलि नगर्ने हो भने अर्को एक हप्ता कुर्नुपर्छ। भोलिका लागि बुक गरिदिऊँ ?’
हामीले हुन्छ भन्यौँ। एपोइन्टमेन्ट बुक गर्न चाहिने नाम, नम्बर र ठेगाना ईश्वरीजीले टिपाए।
खबर लिएर हामी फेरि सिर्जना राउतको घर पुग्यौँ।
घर पुग्दा उनका जेठाजु कालिबहादुर राउत फोनमा कुरा गरिरहेका थिए, ‘मैले सकेजति म गर्छु, कान्छाको सास त पठाउन सकिएन, लास भए पनि पठाउने कोसिस भइराखेको छ। यहाँका केही भाइहरू बुझ्न गएका छन्। उनीहरूले बुझेर आएपछि म खबर गर्छु।’
उनले फोन राखेर सोधे, ‘कुरा के भो त ईश्वरी भाइ ?’
‘नेपाल पठाउन त समय लाग्ने र महँगो हुने देखियो’, ईश्वरीजी बोले, ‘यही गर्दा पनि पाँचसात हजार डलर लाग्ने देखिन्छ। नेपाल पठाउँदा त झन्डै १५ हजार डलर जति लाग्छ होला। त्यो पनि टाइमको निश्चित भएन।’
उनले आफ्ना ओठ जिब्रोले भिजाए। थुक निले र छत्रे टोपी फुकालेर एकपल्ट दाहिने हातले टाउको सम्याए।
‘आमाबाउको मन हो, मरे पनि एकपल्ट छोराको अनुहार हेरूँ भन्ने भइहाल्छ। हैन, जति लागे पनि पठाउनैपर्छ।’
‘पठाउन सक्दा त राम्रो हो कि, तर तत्काल त्यति पैसाको जोहो गर्ने, दुई महिनासम्म कुर्ने कुरा त्यति व्यावहारिक नहोला कि दाइ’, ईश्वरीजीले सम्झाउन खोजे।
‘होइन, मान्छे नै नरहेपछि पैसाको कुनै कुरा भएन, पैसा जोहो हुन्छ।’
यतिन्जेल चुप रहेकी सिर्जना बिस्तारै बोलिन्, ‘कसरी जोहो हुन्छ दाइ ? लास मात्रै पठाउने कुरा भएन, हामी पनि जानुप¥यो। जीवनमा वज्रपात परि नै सक्यो। पठाउने पठाउने भनेर मात्रै पनि त भएन। कसरी पठाउने ? मैले हिजैदेखि यहीँ सतगत गरौँ भन्दा तपाईं मानिरहनुभएको छैन।’
‘म कसरी मान्न सक्छु, मेरो भाइ हो। मैले औँला समाएर हुर्काएको भाइ। आमाले कसरी मान्न सक्छिन् ? उनले नौ महिना गर्भमा राखेर जन्माएको छोरो हो। तिमी नै भन बुहारी। जसरी हुन्छ विशाल राउतको शव नेपाल जान्छ। ऊ जुन गल्लीमा कुदेको थ्यो, त्यही गल्लीमा त्यहीँका गाउँले मलामी बनेर ऊ खाइखेली हिँडेको, उसकै पैतालाको छाप बसेको खोलामा उसको सतगत हुन्छ।’
‘दुःखको बेला छ, वादविवादभन्दा धैर्य गरेर निर्णय लिनुपर्ला कि दाइ’, ईश्वरीजीले नम्र भएर भने।
त्यतिबेलासम्म सिर्जना राउत भक्कानिइसकेकी थिइन्। सलले आँसु पुछ्दै उनी हिक्कहिक्क गर्दै बोलिरहेकी थिइन्, ‘उहाँ तपाईंको भाइ हो, आमाको छोरो पक्कै हो। मेरो पनि त जीवनका २० वर्ष सँगै सुतेको लोग्ने हो दाइ, मलाई के भएको होला ?’
उनी एकछिन रोकिएर बोलिन्, ‘म कति छियाछिया भएकी छु। बाँकी जीवन अब मैले एक्लै काट्नुपर्छ। न दुःख बाँड्ने मान्छे छ, न खुसीमा हाँस्ने साथी। म कति रित्तो रित्तो भएकी छु दाइ, तपाईंले बुझ्न नै खोज्नुभएको छैन। उहाँ मेरो लोग्ने हो, सतगत यहीँ गर्नुपर्छ दाइ। उहाँको लास मात्रै त म नेपाल लान दिन्नँ।’
त्यतिबेला उनका जेठाजुको मोबाइल बज्यो। उनी हलो हलो भन्दै फोनमा गफिँदै बाहिर निस्किए।
‘अहिले यो परदेशमा हामी जसरी बसेका छौंँ, यही अवस्थामा तुरुन्तै नेपाल पठाउन सक्ने र जान सक्ने अवस्थामा छैन ईश्वरी भाइ’, सिर्जना बोलिन्, ‘पैसा बचत छैन। अब मेरो कमाइले घरको मोर्गेज र खानपान दुवै टार्नुपर्छ। जिन्दगी क्रेडिट कार्डमा चलेको छ। त्यै भएर म उहाँको लास मात्रै पठाउन चाहन्नँ। म मेरैअघि मेरो लोग्नेको अन्तिम संस्कार गर्छु। दाइलाई सम्झाइदिनुस् ईश्वरी भाइ।’
त्यसपछि उनी हिक्का छाडेर रोइन्।
त्यतिखेर उनका जेठाजुचाहिँ फोनमा कुरा गर्दै थिए।
‘अब यस्तै भयो। मरो भाइको लेखान्त यस्तै रैछ। बुहारीले पनि नेपाल नलगौँ भन्दै छे। यताको क्यै फिकर गर्न पर्दैैन। म विशाल राउतको दाइ कालिबहादुर मरेको छुइन। म बाँचुन्जेल मेरो भाइको अन्तिम कर्ममा कुनै खोट, कमी, तलमाथि हुन दिनेछैन। है त।’
उताको मान्छेले फोनमा के भन्यो, हामीले सुनेनौँ।
एकछिन चुपचाप रहेका उनी दाहिने कानमा राखेको मोबाइल देब्रेमा सारेर बोल्न थाले,
‘आमाले पनि पिर गर्नु पर्दैन, बाले पनि पिर गर्नु पर्दैन। अरू आफन्तलाई पनि पिर गर्नु पर्दैन भनिदिनू। संसारको हावा एउटै हो। माटो एउटै हो। पानी एउटै हो। रूख कीटपतङ्ग सबै एउटै हुन्। मेरो भाइ मान्छेको जुनी लिएर आमाको कोखमा नेपालमा जन्मिएको थियो। यो सारा पृथ्वी आमा नै हो। हामीले आमा नै मान्नुपर्छ। जहाँको माटो भए पनि ढोग्नुपर्छ हामीले। हो मेरो भाइ, अब यही पृथ्वी आमाको काखमा विलीन हुनेछ। मेरो भाइ अब हावामा विलीन हुनेछ। यो पृथ्वी ढाकेर बसेको नीलो आकाशमा विलीन हुनेछ।’
उनले सिँक्क गरेर नाक पुछे र फेरि चुप रहे। फोनमा उताबाट कसले के भन्यो कुन्नि, उनले फर्काएको जवाफ यस्तो थियो,
‘ए होइन होइन, हावा पनि संसारको उही हो। संसारमा उस्तै हावा चल्छ। मेरो भाइ बतास भएर त्यहाँसम्म आउँछ। हाम्रो करेसामा, पारि चौतारीमा, खोला बगरमा, घाँसदाउरा गरेको त्यो पाखामा सुस्तरी सुस्ताउँछ। पिर गर्नु पर्दैन।’
मोबाइल कानमै राखेर उनी केहीबेर चुप बसे र बोले,
‘लु है त अहिलेलाई यति भयो, म यहाँका भाइहरूलाई भनेर संस्कार गरेको सबै त्यता देखाउने व्यवस्था गरुम्ला। नभए भिडियो खिचेर भए पनि म भाइको संस्कार देखाउँला। अब मेरो भाइ नेपाल नफर्किने भयो। विशाल राउतको पार्थिव शरीर नेपाल नफर्किने भयो। ऊ यतै, यही कर्मभूमिमा अलप भयो।’
उनले फोन काटे। फोन पाइन्टको दाहिने पकेटमा घुसार्दै उनी भित्र छिरे।
‘मैले कुरा गरेँ बुहारी। मैले बुझेँ। तर म पनि उसको साख्खे दाजु हुँ। उता आमा, बा, इष्टमित्र सास नभए पनि लास त हेरौँ भनी बसेकाले लैजाऔँ भन्ने करबल थियो। अब तिम्रै इच्छाअनुसार यतै सतगत गर्ने भैयो।’
यति भनिसक्दा उनका दुवै आँखाबाट खसेका आँसुका दानाले उनको गाला भिजेको थियो। उनी हिक्हिकाएका थिए। हर्थुंगाले आँसु पुछे। लामो सास ताने र भने, ‘ईश्वरी भाइ, भोलि सतगत गर्ने एपोइन्टमेन्ट लिनुस्।’
ईश्वरीजी फ्युनेरल होमको अघिको मेनेजरलाई फोन गर्न बाहिर निस्किए। म पनि उठेर उनकै पछि लागेँ।
वातावरण फेरि सुनसान भयो।
हलमा करिब सय जना जम्मा भएका थिए।
ठूलो कोठा थियो, एकदम शान्त। विशाल राउतको शव एउटा गुडाउने टेबलमा राखिएको थियो। उपस्थितहरूले क्रमैसित फूलको थुँगा शवमा चढाएर ढोग्दै बाहिर निस्किरेका थिए। श्रद्धाञ्जली दिएर मलामीको हुल जुन कोठामा गएको थियो, त्यसको बीचमा सिसाको बार थियो। सबैजना त्यही सिसाबाट भित्र हेरिरहेका थिए।
सानो छोरो छुनमुन गर्दै शव राखेको टेबुल छेउतिर कुद्दै घुमिरहेको थियो। ऊ बेलाबेला चिर निद्रामा सुतेका उसका बाको शव हेथ्र्यो र फेरि कुदेर आमाको काखमा पुग्थ्यो।
बाहिर अपराह्नको घाम पहेँलिएको थियो।
शव छेउमा पण्डित तीर्थप्रसाद उपाध्याय मन्त्रका ऋचा ठूल्ठूलो स्वरमा वाचन गरिरहेका थिए। तीर्थ पण्डितलाई पनि ईश्वरीजीले नै खोजेर ल्याएका थिए। ईश्वरीजीले मलाई बताएअनुसार तीर्थ पण्डित नेपालमा नेपाली विषयका प्राथमिक विद्यालयका शिक्षक हुन्। नेपालमा पुरेतको काम पनि गर्ने भएकाले आफन्त भेट्न आएका उनलाई अनुरोध गरेर मृत्यु संस्कारको कामका लागि बोलाएका थिए।
‘जहाँ बसे पनि आखिर आफ्नो संस्कार त संस्कार नै रहेछ, भुल्न नसकिने रहेछ’, ईश्वरीजीले मसित भनेका थिए, ‘आखिर शव नै जलाउने कुरा हो, त्यसै जलाए पनि हुने हो हुन त, तर हाम्रो संस्कार भोलिका सन्तानले पनि त सिक्नुपर्छ। हाम्रो जन्म के हो, हाम्रो मृत्यु के हो, तिनले पनि बुझ्नुपर्छ। सकेसम्म संस्कार बचाइराख्न यति चैँ गर्नुपर्छ भनेर पण्डित खोजेर ल्याएँ।’
सिर्जना राउतले थरथराएका हातले श्रीमान्को शव छोइन्। त्यसपछि उनी भक्कानिएर डाँको छाडेर रोइन्। बररर आँसु खसालेर श्रीमान्का खुट्टामा ढोगिन्, निकैबेर उनले टाउको नउठाएपछि दुई महिलाले तानेर फेरि शवलाई घुम्न लगाए। घुम्दाघुम्दै उनी फेरि छाँद हालेर हिक्हिकाउन थालिन्।
कोठा एकतमासले चकमन्न भयो। उनले श्रीमान्को कपाल, निधार, ओठ र गालाहरू मुसारिन्। मैले देखेँ, त्यतिबेला सबैका आँखा रसाएका थिए।
पण्डितले मन्त्रोच्चारणसँगै जौ, तिल, कुश, पानी शवमा छर्किए।
‘मृतात्माको शान्तिको कामना गरौं। स्वर्ग बास होस् भन्ने कामना गरौं’, तीर्थ पण्डितले भने, ‘नरोऊ नानी नरोऊ, आफूलाई सम्हाल। जीवनको एउटा चोला यसैगरी सबैको जान्छ। ढिलोचाँडो मात्रै हो। आँसुले श्रीमान्को स्वर्गको बाटोमा अवरोध नगर। तिम्रो पीडामा तिम्रा श्रीमान्को आत्मा पनि पक्कै दुःखी भएको छ नानी यतिखर। एक चित्त भएर हरिकृष्ण हरिकृष्ण भन नानी।’
यतिखेरसम्म सिर्जना राउत मुर्छा पर्दै बौरिँदै गरेजस्ती, होस नभएजस्ती भएकी थिइन्। उनका आँसु रित्तिएका थिए, रुन आवाज थिएन। उनको अनुहार एकतमासको उदासउदास भएको थियो। जिउ लल्याकलुलुक थियो।
‘जीवन केही पनि होइन, तर जीवन सबैथोक हो। जीवन छोटो छ भन्ने कुरो हामी मनुष्य चोलाले बुझ्नुपर्छ,’ पण्डितले संस्कृतका श्लोक पढ्दै भने, ‘यो जीवनमा एक मुठी सास कुन बेला सकिन्छ, कुनै भर छैन। हाम्रो कुन शब्द अन्तिम हुन्छ, कुन दृश्य अन्तिम हुन्छ र कुन पाइला अन्तिम हुन्छ, कसैले भन्न सक्दैन। कसको मरण कहाँ, कसरी, कहिले हुन्छ त्यो जन्मिँदै लेखेर ल्याएको हुन्छ।’
‘हो त नि कुरो सही हो’, पण्डितको कुरामा कसैले सही थप्यो।
‘कम्तीमा विशाल राउतको देहले आफ्नै संस्कारअनुसार अन्त्येष्टि पाएको छ, नत्र यो सयौँ हजारौँ माइल पर कसरी आफ्नो संस्कारअनुसार अत्येष्टि पाउनु ?’ यति भनेर पण्डितले जौ, तिल, कुश र पानीले फेरि शवमा छर्किए।
पण्डितले ‘यति हो, गर्ने कर्म सकियो अब’ भन्ने संकेत गरे। फ्युनेरल होमका कर्मचारीले शवदाह मेसिनको बिर्को खोले। काठको बाकसमा रहेको विशाल राउतको शव बाकससहित शवदाहको ढ्वाङमा हालियो र त्यो ढ्वाङको बिर्को बन्द गरियो।
उपस्थित सबका आँखा रसाएका थिए। त्यहाँ एकतमासको सन्नाटा छाएको थियो। मलामीहरूलाई त्यो कोठाबाट बाहिर जान संकेत गरियो। बिस्तारै मलामी अर्को कोठातिर निस्किए। बडेमाको सिसाको बार लगाइएको कोठाबाट शवदहन कोठाको दृश्य देखिन्थ्यो। मलामीहरू सिसाबाट पल्लो कोठामा हेर्दै थिए।
सिर्जना राउतलाई कसैले ढोकासम्म डोर्याएर ल्याएको थियो। त्यही बेला विशालका दाजु कालिबहादुरले शवदहनको स्विच अन गरे। स्विच अन गर्दा त्यहाँ एक तमासको गडङ्ग आवाज आयो र चटटट गरेर विद्युतीय मेसिन चलेको आवाज सुनियो।
सिर्जना राउत फेरि एकपल्ट मुर्छा परुँलाझैँ गरेर छाती पिटेर रोइन्। यसपल्ट उनका दाजुका आँखा पनि भरिए र उनी अर्कोपट्टि फर्केर रुन लागे। मलामीहरू कोही हिँड्ने तरखर गर्न लागे। कोही यताउता चलमलाए। वातावरण एकदम उदासउदास र वैरागलाग्दो भयो।
विशाल राउतको सानो छोराले बाबुलाई किन त्यो ड्रमजस्तो भाँडामा हालेको बुझिसकेको थिएन। तर सबै रोएको देखेर ऊ पनि रोइरहेको थियो । अघिदेखि नै रोइरेको १३ वर्षे जेठो छोरालाई कसैले अँगालो हालेर राखेको थियो।
शव जलिसकेको थियो। त्यहाँ सफाइको काम चल्दै थियो। मलामीहरू एकपछि अर्को गर्दै हिँडिसकेका थिए। म पनि त्यहाँबाट निस्कन लागेको थिएँ। मैले देखेँ शवदाहगृहभित्रबाट सकैले सेतो कपडामा एउटा पोको ल्याएर विशालका दाजुलाई दिँदै भनेको थियो, ‘अस्तु हो, नेपाल जाँदा लैजानुपर्छ। कोसी र विजयपुर खोलामा सेलाउनुपर्छ। पार्थिव शरीरले नभेटे पनि कम्तीमा अस्तुले आफ्नो माटो भेट्छ।’
सिर्जना राउत छेवैको बेन्चीमा बसेकी थिइन्। उनका आँखा सुन्निएका थिए। कपाल असरल्ल छोडिएको थियो। अगाडिको कपालले आधा निधार छोपेको थियो। अनुहार एकतमासको अँध्यारो भएको थियो। गालामा आँसुको लेघ्रो थियो।
मैले देखेँ, सिर्जना राउत उदास उदास भएर कहिले हलको सिलिङतिर त कहिले त्यो अस्तुको पोकोतिर एकनासले हेरिरहेकी थिइन्।
(सांग्रिला बुक्सबाट आउँदो साता बजार आउन लागेको अनमोलमणिको दोस्रो कथा संग्रह ‘१९ नम्बर’ मा संग्रहित कथा। संग्रहमा ९ वटा कथा छन्।)