आफ्ना व्यवसायी साथीको सामूहीक बलत्कारमा संलग्नलाई मृत्युदण्डको सजाय माग गर्दै सौन्दर्यकर्मीले बर्दिवासमा बिहीबार विरोध कार्यक्रम गरेका छन्। राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालमा आवद्ध धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहा गरी पाँच जिल्लाका सौन्दर्यकर्मीले बिरोध कार्यक्रम गरेका हुन्।
उनीहरूले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग गदै आयोजना गरेका विरोध सभामा अन्तरपाटी महिला सञ्जाल बर्दिबासकी अध्यक्ष सारदा थापाले बलत्कारजस्तो जघन्य अपराधमा संलग्नलाई फाँसी नदिएसम्म यस्ता घटनामा कमी नहुने दाबी गरिन्। उनले दण्डहीनताका कारण समाजमा अपराध बढिरहेको बताईन्।
बर्दिबासमा नागरिक समाजका अगुवा कुर्महरी सुवेदीले सरकारसँग नारी अस्मितालाई सुरक्षा गर्न माग गरे। राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपाल, धनुषाकी सल्लाहकार नम्रता राईले महिला हिंसा न्यूनिकरणका लागि राज्य कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिईन्।
महोत्तरीको औरही गाउँपालिका—२ फूलबारीयाकी एक २० बर्षीया सौन्दर्यकर्मी (ब्युटिसियन) लाई जेष्ठ २८ गते आइतबार साँझ पार्लरबाट फर्किदै गर्दा युवाहरुको समूहले सामुहीक बलत्कार गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले औरही गाउँपालिका २ का २६ वर्षीय सुनिल साहसहित चार जनामाथि जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर कारवाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक पोखरेलले बताए।
पीडितले जेठ २९ गते दिएको जाहेरीको आधार आरोपितविरुद्ध प्रहरीले बलात्कारको मुद्दा दर्ता गराएको हो।