महोत्तरी प्रहरीले जलेश्वरमा सञ्चित तीन अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सई प्रदिप भगत नेतृत्वको टोलीले जलेश्वर ४ मा सञ्चालित तीन वटा मदिरा भट्टी नष्ट गर्नुका साथै उक्त भट्टीबाट तयारी मदिरा र कच्चा पदार्थ समेत बरामद गरेका छन्।
प्रहरीले उक्त मदिरा भट्टिबाट पाँच सय लिटर तयारी मदिरा र २ हजार ५ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी राजकुमार लम्सालले बताए।
नष्ट गरिएका भट्टीबाट ठूलो ड्रम २ थान , सानो ड्रम ४६ थान , मदिरा उत्पादन गर्ने मेसिन २ थान बरामद गरिएको प्रहरीले जनाएको छ। लामो समयदेखि उक्त स्थानमा निर्वाधरूपमा मदिरा भट्टी सञ्चालन भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा एकै ठाउँमा ३ वटा मदिरा भट्टी सञ्चालनमा रहेको भेटिएको प्रहरीले जनाएको छ। भट्टी सञ्चालक प्रहरी आएको सुईको पाएर भागेका छन्।
महोत्तरी प्रहरीले जिल्ला भरी सञ्चालित अवैध मदिरा भट्टी नियन्त्रण गर्ने उद्देश्य साथ विशेष टोली नै परिचालन गरेको र टोली परिचालन गरेपछिको यो पहिलो सफलता हात लागेको एसपी लम्सालले सेतोपाटीलाई बताए।
‘हामीलाई सूचना आए हामी जिल्लाको जुन सुकै ठाउँमा सञ्चालित अवैध मदिरा भट्टीमा छापामारी यसै गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिदैं जाने छौँ,’ एसपी लम्सालले भने। महोत्तरी जिल्लामा तीन दर्जन भन्दा बढी अवैध मदिरा भट्टी सञ्चालनमा रहेको स्रोतको दाबी गरेको छ।