तेस्रो अन्तराष्ट्रिय योग दिवसका बुधबार महोत्तरीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। योग गरौं निरोग बनौँ भन्ने नाराका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र महोत्तरीको आयोजनामा बिहान ५ बजेदेखि ८ बजेसम्म जलेश्वरको जिल्ला समन्वय समितिको सभाहलमा योगाभ्यास कार्यक्रम गरिएको थियो।
कार्यक्रम अधिकांश बक्ताहरूले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने, विद्यालयमा योग अभ्यासबारे बहस र छलफलका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र महोत्तरीका प्रमुख डाक्टर सुबोध मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि हरेक वर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको हो।