कम्तीमा एक दर्जन युवतीहरूको हत्या गरी ‘बिकनी किलर’ का रूपमा संसारभर कुख्यात चार्ल्स शोभराजको गत साता मुटु शल्यक्रिया गरियो। करिब तीन घन्टा लगाएर गरिएको शल्यक्रियामा उनको मुटुको एउटा ‘भल्म’ फेरेर कृत्रिम हालियो भने अर्को उपचार गरेर ठिक पारियो।
गंगालाल अस्पतालमा भएको उक्त शल्यक्रिया टिमको नेतृत्व गरेका थिए, डा. रामेश कोइरालाले।
त्यही शल्यक्रियापछि डा. कोइरालाले शोभराजसँगै खिचेको तस्बिर पोस्ट गर्दै लेखे– ‘हो, उनको मुटु रहेछ।’
डेढ दशकभन्दा लामो करिअरमा डा. रामेशले कति बिरामीको उपचार गरे होलान्! कतिका मुटु चिरे होलान्! तर, शोभराजको हकमा यस्तो वैयक्तिक भावना अभिव्यक्त गर्नुले उनको आलोचनासमेत भयो।
आखिर किन लेखे त उनले त्यस्तो?
‘बिरामीअनुसार फरक–फरक दवाब हुन्छ,’ डा. कोइरालाले सेतोपाटीसँगको कुराकानीमा भने, ‘धेरैले चिन्ने मान्छेको अपरेसन गर्दा र नचिन्ने मान्छेको अपरेसन गर्दा फरक दवाब हुन्छ। धेरैले चिन्ने मान्छेको उपचार गर्दागर्दै मृत्यु भयो भने जीवनभर दाग लाग्छ।’
शोभराजको मुटु चिर्ने निधो भइसकेपछि पनि उनी यस्तै दवाबमा थिए। र, उत्तिकै उत्साहित पनि।
सुरुमा शोभराजको उपचार गंगालालका अर्कै डाक्टरले गरिरहेका थिए। शल्यक्रिया पनि उनैले गर्ने चाँजो मिलाइँदै थियो। एकाएक यो ‘केस’ डा. कोइरालाको हातमा आयो। यसमा खासगरी शोभराजकी ‘पत्नी’ निहीता विश्वास र उनकी आमा शकुन्तला थापाको हात छ। शकुन्तलाले नै शोभराजको उपचार र शल्यक्रियामा संलग्न हुनुपर्यो भन्दै कोइरालालाई आग्रह गरेका थिए। शोभराज आफैंले पनि अस्पताल आएर ‘मेरो अप्रेसन गरिदिनुस्’ भन्दै आग्रह गरेको डा. कोइराला बताउँछन्।
यसरी परिवारबाटै पहल भएपछि उनी शोभराजको शल्यक्रिया गर्ने तयारीमा लागे।
रामेशले आफ्नो ब्लगमा लेखेअनुसार गंगालाल अस्पतालका दुई महिला डाक्टरले शोभराजकै कारण आफ्नो राजीनामा पछि धकेलेका थिए। सामयिक विषयमा कुनै चासो नभएका दुवैले रामेशसँग भनेछन्, ‘सर, म उसको बाहिरी छाला चिर्छु।’
अर्की युवतीले भनिछन्, ‘म उसको छाती उघार्छु।’
घरमा सितिमिति अस्पताल, बिरामीको कुरा नगर्ने रामेशले यसपालि भने डाक्टर पत्नी पुनम शर्मासँग शोभराजका बारेमा कुराकानी गरेका थिए। भनेका थिए, ‘म चार्ल्स शोभराजको मुटुको अपरेसन गर्दैछु।’
टिचिङ अस्तालमा ‘गाइनोकोलिजिस्ट’ रहेकी पुनमबाट केही बेर कुनै प्रतिक्रिया आएन।
रामेशले फेरि उही संवाद दोहोर्याए।
पुनमले तै प्रतिक्रिया जनाइनन्।
साँझ खाना खाने बेला फेरि उही कुरा उठेपछि बल्ल पुनमले भनिन्, ‘ऊसँग मुटु छ र!’
पुनमको यो प्रतिक्रियाको पछाडि एउटा कथा छ, जुन कथाले रामेशलाई शोभराजसँग पनि जोड्छ।
पुनमका बाबु भारतको तिहाड जेलमा अधिकारी थिए। त्यही बेला शोभराज जेलबाट भागे। कैदी फरार भएपछि त्यसको दोष त्यहाँका अधिकारीहरूले पनि खप्नुपर्ने भइहाल्यो। पुनमका बुवाले पनि तनाव झेल्नुपर्यो। त्यतिबेला पुनम सानै थिइन्। उनले शोभराजका कारण आफ्ना बाबुको तनाव देखेकी थिइन्। यही कारणले कलिलो दिमागमै शोभराजको कुख्याती गढेको थियो।
आफ्नी पत्नीको मुटुमा बाल्कालदेखि पीडा बनेर रोपिएका उनै शोभराजसँग अचेल रामेशको नियमित भेट हुन्छ।
रामेशका अनुसार शोभराज बोलक्कड छन्। जब बिरामी बोल्न सक्ने हुन्छ, बोल्न चाहन्छ। त्यही बेला रामेशको ‘लेखकीय दिमाग’ सक्रिय हुँदो रहेछ। आवश्यक भएकाले सामान्य सोधपुछ त हरेक डाक्टरले गर्छन्, तर जब बिरामीले नै कुनै चाखलाग्दो घटना सुनाउँछ, रामेश अझै कथा खोतल्न थाल्छन्। उनी शोभराजसँग जिज्ञासा राख्नुअघि सोध्छन्, ‘एउटा कुरा सोध्छु, भन्नुहुन्छ?’
शोभराजको कथाले रामेशको दिमाग रिँग्याएछ। ‘म उनलाई पागल, बहुलाहा यस्तै हिसाबले चिन्थेँ,’ रामेश भन्छन्, ‘अहिले उनको कुरा सुनेर म आफैं तरंगित भइरहेको छु। उनी आफूलाई भइरहेको घटनामा फिट गराउँछन्। कुरा सबै झुट हो, तर सत्यझैं सुनाउँछन्। कुन सत्य हो र कुन कथा हो भन्ने नै छुट्याउन नसकिने किसिमको।’
शोभराज मात्र होइन, आफूले मुटु शल्यक्रिया गरेका बिरामीबाट उनले केही पत्यार नलाग्ने तर मनले सत्य ठान्ने थुप्रै कथा सुनेका छन्।
केही वर्षअघिको कुरा हो, उनले ७० वर्षीय पाकिस्तानी नागरिकको मुटु शल्यक्रिया गरेका थिए। उनी नेपालको जेलमा थिए। रामेशले सुनेअनुसार उनको जेलभित्रै मृत्यु भयो। उपचार क्रममा उनले रामेशलाई रुँदै आफ्नो कथा सुनाएका थिए।
उनका छोरा एक कारखानामा मजदुरी गर्थे। बाबुलाई मुटुको रोग लागेपछि मालिकसँग सहयोग मागे। मालिक निकै दयालु देखिँदै सहजै उत्तर दिए, ‘भइहाल्छ नि, ढुक्क हुनु।’
केही दिनपछि मालिकले छोरालाई भनेछन्, ‘नेपालमा मुटु अपरेसन सस्तो र राम्रो छ। त्यहाँ मैले चिनेका डाक्टर छन्। तिम्रो बुवालाई फ्रीमा अपरेसन गर्न लगाइदिन्छु।’
बाबु–छोरा दुवै खुसी भए। एयरपोर्ट आइपुगेपछि कसैले उनलाई बाक्लो ज्याकेट पहिर्याइदिँदै भन्यो, ‘काठमाडौंमा जाडो हुन्छ, होस गर्नु।’
उनी काठमाडौं एयरपोर्टमा समातिए। मुटुको अपरेसन गर्न आएका उनी सिधै जेल पुर्याइए। उनले लगाएको ज्याकेटभरी नक्कली नोट थियो।
ती पाकिस्तानी नागरिक नक्कली नोट कारोबारको अभियोगमा जेल त परे, तर उनी जुन प्रयोजनका लागि नेपाल आएका थिए, त्यो पनि पूरा भयो। उनको मुटुको शल्यक्रिया यहीँ भयो, यहीँका डाक्टरबाट अर्थात् रामेशबाट।
रामेश अझै पनि उनलाई सम्झिरहन्छन्।
दिनहुँ थुप्रै मान्छेका कथा सुन्ने भएकाले उनको दिमागमा चाखलाग्दा मात्र संग्रहित हुन्छन्। रामेशलाई कुनै दिन ती संस्मरण आफ्नो लेखनमा उपयुक्त हुन सक्ला भन्ने लाग्छ।
‘आमाको मुटु’ संस्मरणबाट किताबी लेखन सुरु गरेका रामेशको ‘कोपिला आश्रम’ उपन्यास गरी जम्मा दुई किताब प्रकाशित छन्। दुवै किताबले उनलाई ‘राम्रो लेखक’ मा दर्यायो। तर, उनी लेखक हुँदै डाक्टरीमा छिरेका होइनन्। डाक्टरीबाट लेखनतिर आएका हुन्, भलै निबन्ध, कविता लेख्ने सोख स्कुलैदेखि थियो।
लेखकहरू मुटुलाई मनसँग दाँज्छन्। खुसीमा उनीहरूको मन होइन, मुटु पुलकित हुन्छ। पीडामा मन होइन, मुटु रुन्छ। यस अर्थमा मुटुका डाक्टर र लेखकसमेत रहेका रामेशको मुटु परिभाषा अरूका तुलनामा फरक होला?
डाक्टर भइसकेपछि र त्यसमाथि मुटु नै चिर्ने डाक्टर भएपछि लेखनमा हात हाल्दा रामेशलाई एउटा घाटा लागेको अनुभूति हुन्छ — उनी हदैसम्म ‘रोमान्टिक’ लेख्न सक्दैनन्।
‘म कुनै पात्रलाई अचाक्ली पीडा परेर राति जुनमा हेर्दै टोलाएको कल्पना गर्न सक्दिनँ,’ रामेश भन्छन्, ‘यो घाटा नै त होला नि! कुनै दिन मैले फिल्म लेखेँ भने, नायक–नायिका बगैंचामा, डाँडामा नाचेको कल्पना गर्न सक्दिनँ।’
यस्ता घटनाको कल्पना उनलाई नाटकीय लाग्छ। उनलाई थाहा छ, मान्छे जुन अंगलाई मन मान्छन्, त्यसलाई दिमागले काम अह्राउँछ। परिस्थितिअनुसार मुटुको धड्कन तेज या कम हुन्छ। मनसँग यसको कुनै लिनुदिनु छैन। त्यसैले, डाक्टर रामेशका लागि मुटु सिर्फ एउटा अंग हो। शरीरका अरू अंगजस्तै। तर, यस्तो अंग, जसले काम गर्न छाडेको पल जीवनले विश्राम लिन्छ।
रामेश गंगालाल अस्पतालमा सबैभन्दा धेरै बिरामी जाँच्ने डाक्टरमा पर्छन्। रमाइलो के भने, ‘मृदुभाषी’ को परम्परागत मान्यतामा रामेश फिट छैनन्। सानो छँदा परिवारबाट ‘नसे’ नाम पाएका दुब्लो कदकाँठीका रामेश चर्को स्वरमा बोल्छन्। बिरामीलाई सिधै हकार्छन्। तर, सिधा कुरा गर्छन्। मुटुको शल्यक्रिया गर्नुपर्ने भयो भने भनिदिन्छन्, 'देशदुनियाँ घुमेर आउनुस्। सबैतिर बुझेर चित्त बुझ्यो भने मात्र आउनुस्।'
यति भनिदिएपछि आफू ‘सेफ जोन’ मा रहने भएकाले यो तरिका अपनाउने गरेको उनको भनाइ छ।
शल्यक्रियापछि बिरामी कुरा गर्न थालेको क्षण र आफैंले ‘डिस्चार्ज भयौं’ भन्दा उनलाई खुसी लाग्छ। हरेक अपरेसन सफल हुँदै जाँदा उनी रमाउँछन्। एकै दिन धेरै बिरामीको शल्यक्रिया गर्दा पनि खुसी हुन्छन्। नाम कमाएका पैसावालहरू उपचार गर्न विदेश जाँदा भने रामेशको आक्रोश उम्लिन्छ। उनी त्यो दिनको पर्खाइमा छन्, जुन पूरा भएमा उनी खुसी हुनेछन्।
‘श्राप नै दिन्छु– देश हाँक्ने कहलिएकाहरूलाई मुटुको रोग लागोस्,’ उनले भने, ‘अपरेसन नै गर्नुपरोस् र उपचार मेरै हातबाट होओस्। तिनीहरूको अपरेसन नेपालमै सफल भएकोमा खुसी हुनेछु।’
उनले एकदिन ट्विटरमै लेखेका थिए, ‘इच्छापत्रः निकै वर्ष सरकारी तलब लिएको म ‘रामेश कोइराला’ यदि भविष्यमा रोगी भएर स्वैच्छाले उपचारका लागि विदेश गएछु भने पनि सरकारी दान लिन्न।’
दुःखचाहिँ केमा लाग्छ नि?
‘नेपालमा जन्मिएकोमा,’ रामेशले सुरुमा त छोटो उत्तर दिए र त्यसपछि कारण खुलाउन थाले। अपरेसन सफल नभएपछि बिरामीका आफन्त कुरै नबुझी कराउँदा उनलाई दुःख लाग्ने रहेछ।
रामेशका भनाइमा मुटु शल्यक्रिया यस्तो हो, जसमा बिरामी बाँच्छ भन्ने ग्यारेन्टी हुँदैन। ‘नेपाल मात्र यस्तो देश हो, जहाँ ५० प्रतिशत बिरामीको उपचार गर्दागर्दै मृत्यु भयो भने तिनका आफन्त चित्त बुझाउँछन्,’ रामेशको गुनासो छ, ‘बाँकी ५० प्रतिशत यति चर्को हुँदै गइरहेको छ, बिरामीको मृत्यु भयो भने सिधै डाक्टरले मार्यो भनिदिन्छ। हामी आफैं बिरामीको मृत्यु हुँदा चिन्तित हुन्छौं भने आफन्त झन् कराउँदा थप तनाव भोग्नुपर्छ।’
यसबाहेक अस्पताल प्रशासनभित्र भ्रष्टाचारका कुरा सुनिँदा, डाक्टरलाई काम गर्ने सहज वातावरण नहुँदा उनलाई रिस उठ्छ। अक्सर रमाइलै हुने उनको अपरेसन थिएटरमा टिममा भएकाले सहज तरिकाले काम गरिदिएनन् भने पनि रामेशलाई रिस उठ्छ। नत्र भने, कोही रमाइला घटना या चुट्किला सुनाइरहेका हुन्छन्। ‘अरु पेसामा भएका मान्छेहरु आफ्नो काम गर्दा जे गर्छन्, त्यस्तै हुने हो हाम्रो अपरेसन थिएटर पनि,’ उनी भन्छन्।
फरक यत्ति हो, उनीहरू कुरा गर्दा आँखा गरिरहेको काममा मात्र हुन्छ। कसैलाई बोलाउनुपरे, ऊसँग कुरा गर्नुपरे आँखा जुध्दैन। भन्छन्, ‘आँखा नजुधाई कुरा गर्नुलाई हामी सामान्य मान्छौं।’
अपरेसन थिएटरमा जानुअघि टिमबीच क–कसले के–के काम गर्ने भन्नेबारे पहिल्यै सल्लाह भइसकेको हुन्छ। रामेश मुख्य सर्जन हुन्। उनलाई आफूले गरेको पहिलो शल्यक्रियाको अनुभव भने सम्झना छैन।
‘गाडीको कन्डक्टरलाई पहिलोपल्ट गाडी कहिले चलाएँ भन्ने याद हुँदैन होला,’ रामेश भन्छन्, ‘त्यस्तै हो हाम्रो पनि। कुनलाई पहिलो सर्जरी मान्ने। तीन/चार घन्टाको अवधिमा अपरेसन थिएटरभित्र थुप्रै डाक्टर खटिएका हुन्छन्। कतिले पूरै तीन घन्टा काम गर्नुपर्छ। मेन डाक्टरको काम जम्माजम्मी १० मिनेटको हो। तीन घन्टालाई अपरेसन मान्ने कि १० मिनेटलाई?’
तस्बिरहरु: नारायण महर्जन/सेतोपाटी