केही साताअघि नेपाली सिनेबजारमा एउटा हल्ला गाइँगुइँ चल्यो– ‘छक्कापञ्जा २’ युट्युबमा रिलिज नहुने। जबकि, डिजिटल र विदेश रिलिजका लािग ‘छक्कापञ्जा’लाई सुटिङमा जानुअघि नै ५५ लाख दिएर खरिद गरेको हाइलाइट्स नेपालले सिक्वेललाई सुटिङअघि नै एक करोड दिइसकेको थियो।
युट्युब च्यानलको मुख्य आम्दानीको रुपमा रहेको फिल्म युट्युबमै रिलिज नगर्दा हाइलाइट्सलाई के फाइदा?
फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीका अनुसार फिल्म युट्युबमा रिलिज नगर्ने नै भनिएको होइन। ढिलो गर्ने भनिएको रहेछ। उनका भनाइमा तीन वर्षपछि मात्र युट्युबमा रिलिज गर्ने सम्झौता भएको छ। विदेश रिलिजदेखि, टेलिभिजन अधिकार विक्रीसम्मका कुरालाई ध्यानमा राखेर चाँडो रिलिज नगर्ने सम्झौता भएको गिरीले बताए।
‘हामी हलसम्मै पुगेर फिल्म हेर्न संस्कृति बढोस् भन्ने चाहन्छौं,’ गिरीले सेतोपाटीसँग भने, ‘पाइरेसीका कारण छक्कापञ्जा युट्युबमा चाँडै रिलिज गर्नुप¥यो। कति दर्शकले हलमा हेर्न पाएका थिएनन्। युट्युबमा चाँडो फिल्म रिलिज गर्दा दर्शक हलसम्मै आउने चलन घट्छ। अर्को कुरा, युट्युबमा अगाडि/पछाडि गर्दै हेर्न मिल्ने भएकाले कतिले पुरै फिल्म नहेरी प्रतिक्रिया दिन्छन्। यो राम्रो होइन। हामी चाहन्छौं– दर्शकले आफ्नो परिवार, साथीसंथगीसहित हलसम्म आएर पुरै फिल्मको आनन्द लिउन्। पुरै फिल्म हेरेपछि दिएको प्रतिक्रिया पत्याउनलायक पनि हुन्छ।’
उनले हाल छायांकनको अन्तिम चरणमा रहेको छक्कापञ्जा २ नेपालीको सघन बसोबास रहेका सबै देशमा रिलिज गर्ने बताए। ‘जुन देशमा हल रिलिज गर्न सक्दैनौं, त्यो देशका नेपालीले मात्र इन्टरनेटबाट हेर्न मिल्ने व्यवस्था मिलाउँछौं,’ गिरीले भने।
फिल्ममा छक्कापञ्जाका सबै मुख्य कलाकारका अलावा स्वरुपपुरुष ढकाल, निश्चल बस्नेत र स्वस्तिमा खड्काले अभिनय गर्दैछन्। दीपाश्री निरौला निर्देशित फिल्मको एउटा गीतको मात्र छायांकन गर्न बाँकी रहेको गिरीले जानकारी दिए।