पोखरीको निकै नजिक गएर तस्बिर खिचाउने क्रममा चिप्लिएर लड्दा मंगलबार राजधानीको सुन्दरीजलमा एक जनाको ज्यान गएको छ।
यो घटना त्यतिबेला भयो, जब ट्याङ्लाफाँटका जगदीश दुलाल, उनकी दिदी यमुना र फुपूका छोरा बिसम घिमिरे घुम्न सुन्दरीजल गएका थिए।
उनीहरू सोमबार दिउँसो १ बजेतिर सुन्दरीजल पुगेका थिए। घुम्ने क्रममा २१ वर्षीया यमुना बागमती नदी किनारको एउटा पोखरी नजिक गएर तस्बिर खिचाउन थालिन्। मोबाइल क्यामरा उनका भाइ १८ वर्षीय गणेश भन्ने जगदीशले समातेका थिए। तस्बिर खिच्दाखिच्दै यमुना पोखरीको निकै नजिक पुगिन्।
जगदीश जसै मोबाइलले तस्बिर खिच्न ठिक्क परे, पोखरीको किनारमा उभिएकी यमुना चिप्लिएर पानीमा खसिन्। जगदीश फोटो खिच्न छाडेर पोखरी छेउ पुग्दासम्म यमुना डुब्न थालिसकेकी थिइन्।
उनी हत्तपत्त पोखरीमा हाम्फाले। तर, यमुनालाई बचाउनु त कहाँ हो कहाँ, उल्टो आफैं पानीमा छट्पटाउन थाले।
दिदीभाइ दुवै पोखरीमा छट्पटाउन थालेपछि फुपूका १४ वर्षे छोरा बिसमले चिच्याउँदै गुहार मागे। खैलाबैला सुनेर सुन्दरीजल घुम्न गएका केही युवा जम्मा भए। नजिकै बस्दै आएका नेपाली सेनाका केही जवान पनि आइपुगे। स्थानीय पनि भेला भए।
सैनिक जवानले पोखरीमा छिरेर यमुनाको कपाल समात्दै सकुशल बाहिर निकाल्यो। तर, जगदीशलाई बाहिर निकाल्दासम्म ढिला भइसकेको थियो।
‘तस्बिर खिच्ने लोभमा पोखरीको नजिक जाँदा एउटा सानो गल्तीले मान्छेको ज्यान गयो,’ सुन्दरीजलको घटनाबारे जानकारी दिँदै बौद्ध प्रहरी कार्यालयका डिएसपी अच्युत पुडासैनीले मंगलबार सेतोपाटीसँग भने।
उनका अनुसार पोखरीबाट बाहिर निकाल्दा नै जगदीशको सास गइसकेको थियो भने यमुना अचेत अवस्थामा थिइन्। उनलाई सेनाले तुरुन्तै अस्पताल पठाएको र अहिले अवस्था सामान्य रहेको डिएसपी पुडासैनीले जानकारी दिए।
‘सँगै घुम्न हिँडेको भाइ गुमाउनुपर्दा उनी विक्षिप्त भने छिन्,’ उनले भने।
बुटवल, रामनगरका उनीहरू ट्याङलाफाँटमा बस्दै आएका थिए। ‘नदी किनार र भिरमा तस्बिर खिच्दा वा खिचाउँदा चिप्लिएर ज्यानै गएको घटना हामीले सुन्दै आएका थियौं, सुन्दरीजलमा त्यस्तै भयो,’ डिएसपी पुडासैनीले भने।