त्रिभुवन विमानस्थलमा खटेका नेपाल एयरलाइन्सका कर्मचारीका कारण एक जना युवा मकाउ जानबाट रोकिएका छन्।
नवलपरासी घर भएका चोलाकान्त काफ्ले सोमबार विहान ११ बजेर १५ मिनेटको उडानबाट बैंकक हुदैँ टुरिष्ट भिसामा मकाउ जान लागेका थिए। अाज मकाउ गएर उनी यही १९ तारिखमा फर्कदै थिए।
बोर्डिङ पास लिन जादाँ त्यहाँ खटेका कर्मचारीले अभद्र ब्यवहार गर्दै बैंकक जानबाट रोकेको काफ्ले बताए। बैंकक जानका लागि उनले आइतबार राष्ट्र बैंक थापाथलीबाट ९ सय ३० डलर साटेका थिए।
बैंकले पासपोर्टमा ०६,११,२०१७ को मिति लेखेको थियो । तर बोर्डिङ पास दिन बसेका नेपाल एयरलाइन्सका कर्मचारीहरुले ११,०६,२०१७ हुनुपर्ने भन्दै फिर्ता पठाइदिएको काफ्ले बताए।
'विवाद गर्न नपर्ने विषयमा उहाँले निकै हप्की दप्की र अभद्र ब्यवहार गर्नुभयो,' काफ्लेले सेतोपाटीसँग भने, 'उनकै कारण म बैंकक जानबाट बन्चित भए। '
काफ्लेले डलर साट्ने बेला बैंकका कर्मचारीको नम्बर लिएका थिए। उनले मोबाइलबाट पौने १० बजे बैंकका कर्मचारीलाई फोन गरेर नेपाल एयरलाइन्सका कर्मचारीलाई कुरा गर्न भने । ती कर्मचारीले कुरा गर्न नै चाहेनन काफ्ले भने।
बैंकक र मकाउसम्म पुग्न मैले काटेको टिकटको क्षतिपुर्ति नेपाल एयरलाइन्सले दिनुपर्ने उनको माग छ। विमानस्थलबाट फिर्ता भएपछि उनी सिधै राष्ट्र बैंक पुगेका छन्।
राष्ट्र बैंकले डलर साट्ने जो सुकैलाई आफूहरुले यस्तै गरी मिति लेखिदिने गरेको बैंकका कर्मचारी एकराज सुवेदीले बताए।
यस विषयमा नेपाल एयरलाइन्स त्रिभुवन विमानस्थलका अप्रेसन म्यानेजर सुधनकुमार श्रेष्ठले दुख प्रकट गरे। 'यस्तो त हुन नपर्ने हो, 'उनले भने, 'यस विषयमा बुझेर खबर गर्छु।'