नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अवैध रुपमा नेटवर्किङ व्यवसाय संचालन गरेको अभियोगमा १ सय २ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको सिनामंगलस्थित सिद्धार्थ फुडल्याण्डमा छापा मारेर सिआइबीले १ सय २ जनालाई पक्राउ गरिएको एसपी मिरा चौधरीले जानकारी दिइन।
प्रहरीले अंकित बुढाथोकी, श्वेता बस्नेत, सिर्जना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, विसन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धरलाई पक्राउ गरेको छ। उनीहरुले क्यु नेट नामक कम्पनी खोली अनलाइन र विभिन्न माध्यमबाट व्यवसाय गर्ने गरेको सिआइबीले जनाएको छ।
पक्राउ पर्ने झण्डै ३० जना महिला छन्। '१ सय २ जनामध्ये १४ जना अवैध नेटवर्किङ संचालन गर्ने मानिसहरु रहेछन्,' एसपी चौधरीले भने, 'उनीहरुमाथि म्याद थप गरी मुद्दा चलाइन्छ।'
कम्तीमा ३ लाख ५० हजार रुपैयाँबाट अवैध नेटवर्किङ व्यवसायमा सम्लग्न हुन सकिने एसपी चौधरीले बताइन। एक जनाले अर्को मानिस सदस्य बनाए सो रकम बढ्दै बढ्दै जाने उनले बताइन।
प्रहरी केही वर्ष अघि यस्तै प्रकृतिको युनिटी समूहमा छापा अवैध नेटवर्किङ धन्दा बन्द गराएको थियो। मुख्य संचालकहरुलाई पक्राउ गरेको थियो। युनिटीका संचालक अझै जेलमा नै छन्।
नेटवर्किङ व्यवसाय नेपालसहित श्रीलंका, इरान, अमेरिका, क्यानडा, सुडान, भारत र साउदी अरबमा प्रतिबन्ध छ।