दोस्रो जनआन्दोलनपछि सबैभन्दा धेरै पटक मन्त्री बन्ने सौभाग्य माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई प्राप्त भएको छ।
२०६२/०६३ पछि गठन भएका सरकारमा महरा र गच्छदार ६-६ पटक मन्त्री भएका छन्।
गच्छदारलाई भने दोस्रो जनआन्दोलन अघि पनि धेरै पटक मन्त्री बन्ने सौभाग्य प्राप्त भएको छ। २०४८ सालदेखि २०५९ सालसम्म उनी आधा दर्जनभन्दा बढी पटक मन्त्री भएका थिए।
सबैभन्दा धेरै पटक उपप्रधानमन्त्री बन्नेमा भने गच्छदारले सबैलाई उछिनेका छन्। २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा पहिलो पटक उपप्रधानमन्त्री बनेका गच्छदारको यसपालि समेत गरी पाँच पटक उपप्रधानमन्त्री बनेका छन्।
२०६६ साल पछि २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए। गच्छदारसँगै रक्षमन्त्री बनेका शरतसिंह भण्डारीले विवादका कारण राजीनामा दिएपछि गच्छदारले ६ महिनाभन्दा लामो समय रक्षा मन्त्रालय समेत सम्हालेका थिए।
गृह र रक्षाको जिम्मेवारी एउटै मन्त्रीले सम्हालेको त्यो अहिलेसम्मकै एउटा मात्र उदाहरण हो। २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा पनि उनी उपप्रधानमन्त्री एवम् भौतिक पुर्वाधार मन्त्री बनेका थिए ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनेका थिए।
पहिलो संविधानसभाको निर्वाचनपछि बनेको दाहाल नेतृत्वको सरकारमा भने उनी भौतिक योजना मन्त्री मात्रै बनेका थिए। उपप्रधानमन्त्री बन्ने अवसर पाएका थिएनन्। दाहाल नेतृत्वको सरकार विघटन भएपछि बन्ने अधिकांश सरकारमा उनी सरकार निर्माणका प्रमुख खेलाडी समेत बनेका छन्।
गच्छदार देउवा नेतृत्वको नयाँ सरकारमा पनि उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनेका छन्। दोश्रो संविधानसभाको निर्वाचनपछि बनेका सरकारमा सबैभन्दा बढी भौतिक मन्त्री बन्ने पनि उनी नै हुन्। उनी तीन पटक त भौतिक मन्त्री मात्रै बनेका छन्।
धेरै मन्त्रालयको जिम्मेवारी पाउनेमा महरा२०६२/०६३ पछि धेरै पटक उपप्रधानमन्त्री बन्ने अर्का 'भाग्यमानी' नेता कृष्णबहादुर महरा हुन्। माओवादी पार्टी सहभागी भएका दुईवटा बाहेक सबै सरकारमा उनी मन्त्री बनेका छन्।
महरा २०४८ सालमै जनमोर्चाको तर्फबाट सांसद निर्वाचित भएका थिए। दस बर्ष लामो सशस्त्र क्रान्तीपछी शान्तीप्रक्रिया हुदै अन्तरिम संसदमा सांसद बनेका महरा पहिलो पटक २०६४ चैतमा मन्त्री भएका थिए ।
तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चार मन्त्री थिए।
२०६४ भदौमा सरकार छोडेको माओवादी तीन महिनापछि फेरि सरकारमा फर्कियो। महरा फेरि सञ्चार मन्त्री बने।
दोस्रो संविधान सभाको निर्वाचनपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी तेस्रो पटक सञ्चार मन्त्री बने।
२०६७ माघमा बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा उनी पहिलो पटक उपप्रधानमन्त्री बनेका थिए भने चौथो पटक सञ्चार मन्त्री भएका थिए।
अहिलेसम्म पटक–पटक सञ्चारमन्त्री बन्नेहरूको लिस्टमा महरा पनि अग्रपङ्क्तिमा छन्। २०६८ वैशाखमा उनले खनाल सरकारमा गृह मन्त्रालयको जिम्मेवारी पाए।
२०७३ सालमा बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी दोश्रो पटक उपप्रधानमन्त्री बने भने पहिलो पटक अर्थ मन्त्रालय सम्हाले।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा समेत उनी अटाएका छन् । उनी देउवा सरकारमा उपप्रधान र परराष्ट्रमन्त्री बनेका छन्।
अहिलेसम्म तीन पटक सरकारको नेतृत्वसहित माओवादी सात पटक सरकारमा गएको छ। माओवादी सहभागी सात वटा सरकारमा महरा पाँच सरकारमा मन्त्री बनेका छन्।
२०६२/०६३ पछि धेरै वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेमा पनि महरा र गच्छदार नै अगाडि छन्। महराले अहिलेसम्म सञ्चार, गृह, अर्थ र परराष्ट्र गरी चार मन्त्रालय सम्हालेका छन भने गच्छदारले भौतिक, गृह, रक्षा र संघीय मामिला तथा स्थानीय विकास गरी चार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।