गत वैशाख ८ गते काठमाडौं १८ गंगाहिटीमा एक युवतीको शव फेला परेको थियो। रामेछाप रनास्लु ८ घर भइ गंगाहिटी बस्दै आएकी २३ वर्षकी संचिता पाख्रिनको सलले घाँटी कसिएको अवस्थामा शव भेटिएको थियो।
शव पलङमा सिरकले छोपिएको अवस्थामा थियो। संचिता बस्ने कोठाबाट गन्ध आउन थालेपछि घरबेटीले प्रहरी बोलाएर कोठा खोलेका थिए।
महानगरीय अपराध महाशाखाको टोलीले संचिताको हत्या नै भएको निष्र्कष निकाल्यो । अनुसन्धानमा खट्यो।
शव भेटिएको डेढ महिनापछि प्रहरीले संचिताको हत्यारालाई पक्राउ गरेको छ। प्रहरीले संचिताकै प्रेमी दोलखा वैतेश्वरका २४ वर्षीय प्रशान्त तामाङलाई पक्राउ गरेको छ।
पक्राउ परेका प्रशान्तले २ वर्षअघि आफ्नी भतिजीमार्फत संचितासँग चिनजान भएको बताएका छन्। सो बेलादेखि नै संचितासँग प्रेम सम्बन्ध रहेको उनले बताए।संचितालाई कोठा खोजेर प्रशान्तले भाडा तिर्दै आएका थिए।
उनीहरुवीच यही २०७४ साल असार महिनामा विवाह गर्नेसमेत टुंगो लागिसकेको थियो। संचिताको पेटमा गर्भ बसेको र उनले वच्चा फालेका कारण विवाद हुदाँ उनको हत्या गर्न पुगेको प्रशान्तले बताएका छन ।
प्रशान्तले बच्चा नफाल्न संचितासँग आग्रह गर्दै आएका थिए। तर थाहै नदिए संचिताले बच्चा फालेपछि आवेगमा उनको हत्या गर्न पुगेको प्रशान्तले बताएका छन्।