पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित १२ करोड लगानीमा गौरीघाटमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ। युवा व्यवसायीहरुले होटल पोखरा बाटिका सञ्चालनमा ल्याएका हुन्। करिब २० वर्ष देखि पर्यटन व्यवसायमा सक्रिय दिल गौतम, सन्तोष पोख्रेल र प्रेमकुमार श्रेष्ठले सञ्चालनमा ल्याएको उक्त होटल १ रोपनी क्षेत्रफलमा फैलिएको छ।
करिब ३ वर्ष अगाडि निर्माण सुरु गरिएको होटल नयाँ वर्षको अवसरमा सञ्चालनमा आएको हो। अनौपचारिक रुपमा सञ्चालनमा आएको होटल केही समयपछि औपचारिक रुपमा सञ्चालनमा ल्याउने सञ्चालक दिल गौतमले जानकारी दिए।
होटल निर्माणमा जग्गाबाहेक करिब १२ करोड रुपैयाँ लगानी गरेको उनले बताए। होटलबाट पोखराको मुख्य आकर्षण मानिने फेवा ताल, हिमाल, शान्ति स्तुपा, रानीवन, पोखरा बजार लगायत वरपरका हरियाली जंगलहरुको दृश्यावलोकन गर्न सकिन्छ।
होटलमा ४२ वटा सुविधा सम्पन्न कोठा छन् । ३९ वटा डिलक्स, २ वटा सेमि सुइट र १ वटा सुइट कोठा रहेको उनले जानकारी दिए। पर्याप्त पार्किङको सुविधा, बार, लकर, १ सय जना क्षमताको सभा हलको समेत व्यवस्था रहेको उनले जानकारी दिए।
होटलमा अपाङ्ग र वृद्धावृद्धामैत्रीका साथै पर्यटकको सुविधालाई मध्यनजर गरी लिफ्टको व्यवस्था गरेको उनको भनाई छ। ‘प्रत्येक कोठामा एसीको सुविधा छ,’ उनले भने, ‘खाना तथा खाजाका लागि कोठामै सेवा उपलब्ध छ । चौबिसै घन्टा पर्यटकको सेवामा हाम्रा कर्मचारी खटिएका हुन्छन् ।’ स्टार होटल सरहको सुविधा उपलब्ध रहेको गौतमले जानकारी दिए ।
होटलको मुख्य प्रवेशमा पानीको छहराले आकर्षण रुपमा राखिएको उनले बताए । आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । ‘पूर्ण पारिवारिक वातावरणमा होटल सञ्चालन गरिरहेका छौं,’ गौतमले भने, ‘पर्यटकको स्वागत सत्कार तथा सुविधामा कुनै कमी हुन दिँदैनौं ।’
होटलमा आउने पर्यटकलाई पोखरा तथा आसपासको साइड सिन व्यवस्था पनि मिलाइएको छ। ‘विमानस्थल र बसपार्कसम्म ल्याउने र लैजाने सुविधा पनि उपलब्ध छ,’ उनले भने । होलटमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कोठाको एक रातको नेपालीका लागि ४ हजारदेखि १२ हजार रूपैयासम्म पर्ने उनले बताए।