मतदाता र उम्मेदवारको अन्तिम टुंगो नलागे पनि राप्रपा महाधिवेशन चुनावमय छ।
अध्यक्षको उम्मेदवारी घोषणा गरेका दुबै पक्षले आफ्नो समूह घोषणा गरेका उम्मेदवारको प्रचार-प्रसार तीव्र पारेका छन्।
अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको भिड्दैछन्। लिङ्देनतर्फबाट प्यानल घोषणा भएको छ।
बिहीबार साँझ लिङ्देन पक्षले उपाध्यक्ष र महामन्त्रीसहितको प्यानल घोषणा गरेको हो।
लिङ्देन समूहबाट विक्रम पाण्डेलाई उपाध्यक्षको रूपमा उम्मेदवार घोषणा गरिएको छ। चार उपाध्यक्षमध्ये पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठलाई उम्मेदवार घोषणा गरिएको छ।
चार उपाध्यक्षमध्ये एक महिला रहने पार्टीको विधानअनुसार महिला उपाध्यक्षमा लीला श्रेष्ठलाई उम्मेदवार बनाइएको लिङ्देन पक्षका नेता मुकुन्दश्याम गिरीले बताए।
तीम महामन्त्रीका लागि धवलशमसेर राणा, श्याम तिमिल्सिना र रेखा थापालाई उम्मेदवार बनाउने घोषणा गरिएको गिरीले बताए।
राप्रपा महाधिवेशन बुधबारदेखि भृकुटीमण्डपमा जारी छ। अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे पनि कमल थापा समूहले भने प्यानल बनाइसकेको छैन।
विक्रम पाण्डेलाई यसअघि थापा समूहको टिममा थिए। थापा समूहले बिहीबार बिहानैदेखि पाण्डे आफ्नो समूहमा उपाध्यक्ष उठ्ने बताइरहेको थियो।
तीन महामन्त्रीका लागि थापा समूहले कुन्ती शाहीको नाम घोषणा गरेको छ।
थापा, लिङ्देन पक्ष छुट्टाछुट्टै समूहमा रहेर प्रचार-प्रसारमा जुटेका छन्। अध्यक्ष पदका उम्मेदवारमध्ये लिङ्देन आफैं प्रचार-प्रसारमा देखिएका छन्। उनको समूह पनि सक्रिय छ।
तर, थापा भने प्रचारमा देखिएका छैनन्। उनी बिहीबार दिनभर बन्दसत्रमै अल्मलिएका छन्।
उद्घाटन सकिएपछि बुधबार नै राप्रपाका अध्यक्षत्रयले तीन वटा प्रतिवेदन पेश गरेका थिए। ती प्रतिवेदनमाथिको छलफल अहिले पनि जारी छ।
सामाजिक, आर्थिक र राजनीतिक प्रतिवेदनमाथि छलफलको अध्यक्षता थापाले गरेका छन्। महाधिवेशन प्रतिनिधिलाई ती प्रतिवेदनको बारेमा बोल्न समय दिइएको छ।
थापा बन्दसत्रमा व्यस्त रहेको मौका लिङ्देनले छोपे। बिहीबार मध्यान्हदेखि नै उनी प्रचारमा थिए।
प्रसार-प्रसारका क्रममा उनलाई सञ्चारकर्मीले घेरा हालेका थिए। त्यसक्रममा उनले यसपटक थापाले अन्तिम समयमा अध्यक्षको दाबी छोड्ने विश्वास गरे।
लिङ्देनले पन्ध्र वर्ष लामो थापा नेतृत्वमा राप्रपा कहाँ पुग्यो भनी प्रश्न पनि उठाए। लिङ्देनले थापाप्रति लक्षित गर्दै जुवाको प्रसंग निकाले।
‘म सानो हुँदा गाउँघरमा बाटोमा जताततै जुवा खेलिन्थ्यो, धेरै पटक हारेर आजित भएपछि हात फेरिन्थ्यो, छेऊमा रहेको मान्छेको हात तानेर एकपटक तिमी हेर भनिन्थ्यो,’ थापाले भने, ‘राप्रपामा अहिले त्यही जुवाको प्रसंग देखिएको छ।’
लिङ्देनले पुरानो नेतृत्वबाट राप्रपाले उठाउँदै आएका एजेन्डा जनतामा नबिकेको बताए।
पछिल्लो पटक पार्टी एकीकरण घोषणा भएका दुई वर्षमा पनि पार्टीमा सुधार र विकासका संकेत नदेखिएको उनले बताए।
पुरानो नेतृत्वलाई निरन्तरता दिएर यस्तै कार्यशैलीमा हिँड्दा तीन प्रतिशत थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने, अरू पार्टीसँग तालमेल गरेर ८-१० सिट ल्याउने र मन्त्री पद खानेबाहेक राप्रपालाई एजेन्डामा बलियो बनाउने कल्पना गर्न नसकिने बताए।
‘राप्रपालाई आफ्नो एजेन्डामा बलियो बनाएर, आकार बढाउँदै हिन्दु राष्ट्र र राजसंस्था स्थापनाका लागि विकल्प खोज्नुपर्छ। मैले आफूमा त्यो विकल्प खोजेको हुँ,’ उनले भने, ‘अन्तिममा कमल थापाले मलाई छोड्नुहुन्छ भन्ने विश्वास छ।’