राजतन्त्र पुनर्स्थापना तथा हिन्दु राष्ट्रको माग गर्दै महाधिवेशनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा कमल थापा र राजेन्द्र लिङ्देनबीच को ‘असली’ राजावादी हुने भन्ने होड चलेको छ।
राप्रपा महाधिवेशनमा निर्मल निवासले ‘चासो’ राख्नुले पनि उनीहरूबीच को ‘असली’ राजावादी हुने होड चलेको हो।
राप्रपामा थापा र लिङ्देन दुबै पक्षको ‘लिगेसी’ एउटै भए पनि ‘पात्र’मा निर्मल निवासले ‘चासो’ राखेको देखिन्छ। राजतन्त्र पुनर्स्थापनाको एजेन्डा लामो समयदेखि बोकिरहेका थापा अहिले पनि त्यही एजेन्डा प्रखर रूपमा उठाइरहेका छन्। तर, लिङ्देनले त्यो एजेन्डा स्थापना गर्न पुरानो नेतृत्वबाट सम्भव नभएकाले आफू अघि सरेको बताएका छन्।
बुधबार महाधिवेशन उद्घाटन सत्रमै सक्रिय राजतन्त्रको एजेन्डा कसले स्थापित गर्न सक्ने सन्दर्भमा थापा र लिङ्देनबीच छेडाछेड भएको थियो।
पुरानो नेतृत्वबाट यो एजेन्डा स्थापित नभएको भन्दै लिङ्देनले नयाँ पुस्ताले स्थापित गर्ने बताए।
‘यसको अर्थ हामीले मैले उहाँहरू असफल भएको, उहाँहरूको काम छैन भनेको होइन,’ लिङ्देनले भने, ‘तपाईंहरू अभिभावकीय भूमिकामा रहेर नयाँ पुस्तालाई यो एजेन्डा स्थापित गर्न सहयोग गर्नुस् भनेको हो।’
थापाले आफ्नो बोल्ने पालो आएपछि लिङ्देनलाई ‘काउन्टर’ दिएका थिए। उनले नयाँ र पुराना भनेर विभाजनको रेखा कोर्न नहुने बताउँदै राजतन्त्र पुनर्स्थापनाको एजेण्डालाई संविधानको दुईतिहाइले नरोक्ने दाबी गरे।
‘राजालाई अब नारायणहिटीमा जान संविधानको दुईतिहाइले रोक्न सक्दैन, संसद र सडकको शक्तिबाट जनता आफैंले लगेर गद्दीमा बसालिदिनेछन्,’ उनले दाबी गरे, ‘राजा आऊ देश बचाऊ होइन, जनता आऊ राजा ल्याऊ’ हुने बताएका थिए।
निर्मल निवासमा ‘लविङ’ बढाएर थापालाई ‘साइड’ लगाउन खोजेको आरोप लिङ्देनलाई लाग्ने गरेको छ।
तर, लिङ्देन भने त्यो आरोप अस्वीकार गर्दै आएका छन्। तर, राप्रपाको गतिविधि निर्मल निवासलाई मन नपरेको लख उनी काट्छन्।
‘म के अनुमान गर्न सक्छु भने राप्रपा अहिले जसरी हिँडेको छ, जसरी निदाएर-सुतेर बसेको छ, देशभरि हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा मानिस निस्किँदा राप्रपा चुप बसेको छ, त्यो संस्थालाई पक्कै मन परेको छैन,’ लिङ्देनले भने।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट भएर राप्रपा नेतृत्वमा आफूलाई समर्थन खोजेको आरोपबारे उनी भन्छन्, ‘कहिलेकाहीँ भेट भएको छ, कमल थापाले भेटेको कुरा पनि बाहिर आएको छ, तर यो विषयमा छलफल भएको छैन।’
थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच पछिल्लो समय सम्बन्ध धेरै न्यानो छैन। राजतन्त्रको एजेन्डा बोकेर राजनीति गर्ने तर गणतन्त्र पक्षधरहरूसँग मिलेर सरकार चलाउन पुग्ने गरेको भन्दै थापासँग निर्मल निवास चिढिएको कतिपयको तर्क छ।
थापासँग निर्मल निवास असन्तुष्ट रहेको बुझेपछि ज्ञानेन्द्रसँग लिङ्देन नजिकिएका छन्।
सक्रिय राजतन्त्रको एजेन्डा बोकेर विगत पन्ध्र वर्षदेखि यहाँसम्म छलफल र बहसमा ल्याउने काम आफूबाटै सम्भव भएको भन्दै निर्मल निवासको पछिल्लो भुमिकाले थापा झस्किएका छन्।
निर्मल निवास भने राजनीतिक दलभित्र पस्न आफू नचाहेको बताउने गरेको छ। ‘कुनै पार्टीको महाधिवेशन हुन्छ, त्यसले के एजेन्डा बोक्छ भन्ने कुरा निर्मल निवासको चासोको विषय भएन,’ निर्मल निवास स्रोतले भन्यो।
राजतन्त्र हटेपछि हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग राप्रपा नेपालले उठाइरहेको थियो। लिङ्देन त्यही राप्रपामा थापालाई अध्यक्ष मानेर हिँडेका थिए।
उनीहरूकै एजेन्डामा राप्रपाका पूर्वपञ्चहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी एक ठाउँमा आइपुगेका छन्। राणा चुपचाप छन् भने लोहनीले लिङ्देनलाई समर्थन गरिसकेका छन्।
राजतन्त्र समाप्त भएको १५ वर्षसम्म आफूले थापाको नेतृत्वलाई हेरेको र यो पन्ध्र वर्षमा पार्टी इतिहासमै कमजोर भएर खिइँदै-खिइँदै सर्वाधिक कमजोर भएको लिङ्देनले बताए।
‘पार्टी एकीकरणको दुई वर्षमा पनि हामीले हेर्यौं, पार्टीमा सुधार र विकासका संकेत देखिएनन्। ठूला-ठूला राष्ट्रिय मुद्दा उठे तर राप्रपा कहीँ देखिएन,’ लिङ्देन भन्छन्, ‘जुन कार्यशैलीमा पार्टी हिँडेको छ, होला पुरानो नेतृत्व कायम रहे तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने, अरू पार्टीसँग तालमेल गरेर ८-१० सिट ल्याई मन्त्री खाने त होला, तर राप्रपालाई आफ्नो एजेन्डामा बलियो बनाएर, आकार बढाउँदै हिन्दु राष्ट्र र राजसंस्था स्थापनाका लागि विकल्प खोज्नुपर्छ। मैले आफूमा त्यो विकल्प खोजेको हुँ।’
लिङ्देनले अन्तिम समयसम्म थापाले नेतृत्व दाबी छोडिदिन्छन् भन्ने आफूले चाहिरहेको बताए।
थापा झस्किएको महाधिवेशनको माहोलबाट पनि हो। थापा आफ्नो प्रभावलाई कायम राख्न ‘बल’ गरिरहँदा लिङ्देन पक्षमा माहोल जाग्दो छ।
लोहनीसाथै राणाको समूह पनि लिङ्देनसँग नजिक भइसकेको छ।
महाधिवेशनमा ‘अर्थपूर्ण’ तरिकाले नेतृत्व परिवर्तनको एजेन्डा उठे पनि थापा आफ्नो प्रभाव घटेको देख्दैनन्। राप्रपाका धेरै पुराना हस्तीहरू उनीसँगै रहेकाले पनि थापालाई राहत मिलेको छ।