महाधिवेशन प्रतिनिधिको विवाद टुंगिन नसक्दा राप्रपा महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ।
अध्यक्ष कमल थापा र अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देन पक्षबीच महाधिवेशन प्रतिनिधिलाई लिएर दुई दिनदेखि विवाद छ।
समयमै विवादमा मिलाउन नसक्दा महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो।
बुधबार राप्रपा महाधिवेशन उद्घाटन भएको थियो। उद्घाटनको कार्यक्रम अगाडि नै मतदाता नामावली प्रकाशनको टुंगो लगाइने भनिएको थियो। तर, दुबै पक्षको विवाद नटुंगिँदा बुधबार रातिसम्म पनि मतदाता नामावलीको टुंगो लागेन।
बिहीबार बिहानदेखि नै दुबै पक्षबीच छलफल भए पनि महाधिवेशन प्रतिनिधिबारे अन्तिम टुंगो लागिनसकेको एक नेताले सेतोपाटीलाई बताए।
जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिको सूची अध्यक्ष थापाको निर्देशनमा हेरफेर गरेको आरोप लिङ्देन पक्षका नेताले लगाइरहेका छन्। त्यो विवाद मिलाउन दुई दिनदेखि दुबै पक्षले छलफल गरिरहेका छन्।
राप्रपाले ३३० प्रदेश सभा स्थानीय तहबाट महाधिवेशन प्रतिनिधि चुनेर ल्याएको छ। महिला, दलित, अल्पसंख्यकलगायत हरेक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा समेट्नुपर्ने थियो।
तर कतै दलित र कतै अल्पसंख्यकका प्रतिनिधि खाली थिए। लिङ्देन पक्षका नेताले जिल्लाबाट खाली आएका प्रतिनिधिमा थापा पक्षले आफूखुसी नाम थपेको आरोप लगाएका छन्।
जिल्लाबाट आएको सक्रिय सदस्यता संख्या र महाधिवेशन प्रतिनिधिसमेत हेरफेर भएको गुनासो राप्रपामा छ।
राप्रपामा चार हजार बढी प्रतिनिधि छन्। तर, सबै प्रतिनिधिको नामावली प्रकाशन नभएपछि महाधिवेशनको कार्यतालिका धकेलिने भएको छ।
मतदाता नामावलीको विषय टुंग्याउन निर्वाचन समितिले पाँच सदस्यीय समिति गठन गरेको छ।
त्यो समितिले विवाद टुंग्याउने प्रयास गरिरहेको नेता भाष्कर भद्राले जानकारी दिए।
निर्वाचन समितिले पनि विवाद टुंगिने क्रममा रहेको बताएको छ।
‘हामी बसिरहेका छौं, केही समयमै टुंगिन्छ,’ निर्वाचन समितिका सहसंयोजक तोरणबहादुर गुरूङले भने।
मतदाता नामावलीको अन्तिम टुंगो लागेपछि सूची प्रकाशित गरिनेछ। प्रकाशित सूचीमा दाबी बिरोध गर्नका लागि समय छुट्याइने छ। त्यसपछि मात्र अन्तिम सूची सार्वजनिक हुनेछ।
राप्रपाको महाधिवेशनको निर्वाचन कार्यतालिका बिहीबार ९ बजेदेखि सुरू गर्ने गरि तयारी थियो। तर, नामावली प्रकाशनमै विवाद भएपछि कार्यतालिका प्रभावित भएको हो।