राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग टरिसकेको भए पनि सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन्।
मञ्चबाटै अग्रज नेताहरूले अध्यक्षमा उम्मेदवारी दिएका कमल थापा र राजेन्द्र लिङ्देनलाई सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका छन्।
यसरी सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरूले दुबैलाई आग्रह गर्दा हलमा ताली बजेको थियो।
बुधबारदेखि सुरू एकता महाधिवेशनका अन्तिम वक्ता अध्यक्ष पशुपतिशमसेर राणाले सर्वसम्मत नेतृत्वका लागि दुबै पक्ष तयार हुनुपर्ने बताए।
तर, यदि त्यसो नभए लोकतान्त्रिक विधिबाट नेतृत्व छनोटलाई स्वीकार गर्नुपर्ने उनले बताए।
यसको अर्थ सहमतिका लागि हस्तक्षेप गर्ने रणनीति नेताहरूको छैन।
राणाबाहेक त्यो समूहका सगुनसुन्दर लावतीलगायत नेताहरू लिङ्देनको पक्षमा लागेका छन्। अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लिङ्देन पक्षमा लागिसकेका छन्।
प्रभाव राम्रो रहेकाले थापा लिङ्देनलाई छोड्ने पक्षमा छैनन् भने लिङ्देन समर्थन बढ्दै गएपछि आफ्नो पक्षमा माहोल बनाइरहेका छन्।
‘चुनावमा उठेपछि त्यसको परिणाम स्वीकार गर्न दुबै तयार हुनुपर्छ,’ राणाले भने, ‘यो नै राप्रपाको भाग्य र भविष्यका लागि उपयुक्त हुनेछ।’
तर, राणाले चुनावको परिणामबाट पार्टी विभाजनको दिशातर्फ नजाओस् भन्दै भने, ‘राप्रपाको बृहत्तर एकता र जनताको समर्थन प्राप्त गर्न, यो पार्टीलाई बलियो बनोस् भन्ने उद्देश्य राखेरै नेतृत्वमा दाबी छोडेको हुँ। तपाईंहरू सकेसम्म सहमतिबाट सर्वसम्मत नेतृत्व निर्माण गर्नुहोस्।’
उनले राप्रपाको अध्यक्षमा नभए पनि आफूले सकेसम्म पार्टीको गतिविधिमा संलग्न रहने बताए।
पूर्वप्रधानमन्त्री तथा पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दले पनि पार्टीलाई विभाजन हुन नदिने दिशामा नेतृत्व निर्माण गर्नुपर्ने बताए। नेतृत्वमा विस्तारै युवापंत्ति स्थापित हुँदै जाने बताए।
‘अहिले त्याग गर्ने सुरूआती भएको छ, राणाजी, लोहनीजीले त्याग्नुभयो, यो सर्दै जान्छ,’ उनले भने।
उम्मेदवारी घोषणा गरेका थापाले केही अधुरा काम पूरा गर्नुपर्ने भएकाले त्यो जिम्मेवारीका लागि आफूले तयारी गरेको बताए। तर पार्टी विभाजन नगराउन गीता समातेर कसम खाइसकेको उनले सम्झिए।
पटक-पटक फुट्दै जुट्ने गरेको राप्रपामा त्यसरी पार्टी विभाजनको विपक्षमा नेताहरूले बोल्दा प्रतिनिधिहरूले ताली बजाएर हुटिङ गरेका थिए।
राप्रपाको उद्घाटन सत्र सकिएर बन्दसत्र सुरू भएको छ। बन्दसत्रमा तीनै जना अध्यक्षले कार्यपत्र पेश गरेपछि बुधबारको कार्यक्रम सकिने छ।
राप्रपामा अध्यक्षको उम्मेदवारी घोषणा भए पनि त्यसपछिका पदाधिकारीबारे टुंगो लागेको छैन।
अध्यक्षका लागि अन्तिम समयसम्म सहमतिको प्रयास हुने दुबै पक्षका नेताहरूले बताएका छन्।
तर, लिङ्देन नेतृत्व त्यसरी छोड्ने पक्षमा छैनन्। उनले आफ्नो मन्तव्यमै राप्रपा पार्टीलाई पुरानो नेतृत्वबाट अगाडि बढाउन नसकिने भएकाले युवापुस्ताको नेतृत्व आफूले गरेको बताएका थिए।
बुधबार रातिसम्म सहमतिको प्रयास हुने यदि सम्भव नभए बिहीबार बिहानबाट निर्वाचनको कार्यक्रम थाल्ने तयारी छ।
निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार बिहीबार बिहान ९-१२ बजेसम्मा उम्मेदवारी दर्ताको समय राखिएको छ।
उम्मेदवारको प्रथम नामावली दिउँसो २ बजे प्रकाशित गरिने छ। उम्मेदवारीमाथि दाबी विरोध र फिर्ताको समय दिउँसो २-४ बजेसम्म तोकिएको छ।
अपराह्न ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि बिहीबारको कार्यक्रम सम्पन्न हुने छ।
शुक्रबार बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय राखिएको छ। त्यसपछि मतगणना सुरू हुने बताइएको छ।
राप्रपामा पदाधिकारीका लागि अध्यक्ष, तीन उपाध्यक्ष र तीन महामन्त्रीका लागि चुनाव हुनेछ।
तीन उपाध्यक्ष र महामन्त्रीका लागि दुबैले समूह बनाउने तयारी गरेका छन्। थापा र लिङ्देन दुबै पक्षबाट ती पदका लागि नेताहरूको नामहरू चर्चामा छ।
तर, निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि राप्रपाको मतदाता नामावलीको टुंगो लागेको छैन। मतदाता नामावली प्रकाशन गर्न बुधबार बिहान नै समय तोकिएको थियो।
निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने प्रयास भने गरिरहेको बताइएको छ।
अध्यक्ष थापा पक्षबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुबबहादुर प्रधान, जयन्त चन्दलगायतको नाम चर्चामा छ।
एक महिलासहित तीन जना उपाध्यक्ष रहने व्यवस्था भए पनि महिलाबाट कसैले दाबी गरिसकेको छैन।
लिङ्देन पक्षबाट जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमल्सिना उपाध्यक्षको चर्चामा छन्।
महामन्त्री पदमा थापा पक्षबाट भाष्कर भद्रा, कुन्ती शाही र भुवन पाठकको चर्चा छ।
राप्रपामा एक महिलासहित तीन जना महामन्त्री रहने व्यवस्था छ। महामन्त्री पदमा लिङ्देन पक्षबाट गोविन्द खनियाँ, धवलशम्शेर राणा र रेखा थापा आकांक्षी छन्।
राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदैछ भने बाँकी निर्वाचित अध्यक्षबाट मनोनित हुन्छन्।
सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनित हुने व्यवस्था छ।