राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशन भोलिदेखि तीन दिनसम्म राजधानीमा हुँदैछ।
महाधिवेशनको अघिल्लो दिनसम्ममा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन्।
तर, दुबै पक्षले आफ्नो प्यानल भने बनाइसकेका छैनन्। राप्रपाका प्रभावशाली अध्यक्ष थापाले यसपटक अधुरा काम पूरा गर्न अन्तिम पटक अध्यक्ष उठेको बताएका छन्।
लिङ्देनले पुरानो नेतृत्वबाट राप्रपाका एजेन्डा स्थापित हुन नसकेको भन्दै युवापंक्तिलाई नेतृत्व सुम्पिनुपर्ने धारणासहित उम्मेदवारी घोषणा गरेका छन्।
अहिले दुबै पक्ष आफ्नो पक्षमा नेताहरू तान्न लागिपरेका छन्।
लिङ्देनको पक्षमा अध्यक्षत्रयमध्ये प्रकाशचन्द्र लोहनी खुलेका छन्। अर्का अध्यक्ष पशुपतिशमशेर राणा भने अहिलेसम्म कतै खुलेका छैनन्।
दुबै पक्षले राणाको सहानुभूति आफूतिर रहेको दाबी गरिरहेका छन्। राणा कतै नखुले पनि उनको समूहमा रहेका नेताहरू लिङ्देनको पक्षमा लागिसकेका छन्।
लिङ्देनलाई पूर्वउपाध्यक्ष ढंक ढकाल, दिलविकास राजभण्डारी, तारानाथ लुइँटेल, पूर्वमहामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, पूर्वमन्त्री रामकुमार सुब्बा, जगत गौचन, दुर्गा श्रेष्ठ, रामचन्द्र राय, काठमाडौं पूर्वमेयर राजाराम श्रेष्ठलगायतको समर्थन रहेको बताइएको छ।
गण्डकी प्रदेशका हेमजंग गुरूङ, दुई नम्बर प्रदेशका भरत गिरी र सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीलाई पनि उसले आफ्नो पक्षमा रहेको दाबी गरेको छ। तर, थापा पक्षले सात प्रदेश अध्यक्षमध्ये गण्डकीका गुरूङ मात्रै लिङ्देन पक्षमा रहेको बताइरहेको छ।
केन्द्रीय सदस्य राजाराम बर्तौलाले राप्रपाका ‘हस्ती’हरूको सहयोग थापालाई रहेको बताए।
पूर्वमन्त्री दीपक बोहरा, बुद्धिमान तामाङ, जयन्त चन्द, ध्रुवबहादुर प्रधान, फत्तेसिंह थारू, प्रेमबहादुर भण्डारीसहितका नेताहरू थापाको टिममा छन्।
बोहरा, तामाङ, थारू पूर्वमन्त्रीसमेत रहेका राप्रपाका हस्ती हुन्। प्रधान पूर्वप्रहरी महानिरीक्षक हुन् भने चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन्।
राम थापा (प्रदेश १), भरत गिरी (प्रदेश २), विक्रम थापा (बागमती), प्रदीप उदय (लुम्बिनी), दीपबहादुर शाही (कर्णाली) र धर्मराज जोशी (सुदूरपश्चिम)लाई थापा पक्षले समूहमा राखेको छ।
यसपालि राप्रपामा करिब ४२ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। उनीहरूले एक अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, महिलासहित तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्य, सहायक कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता छान्नेछन्।
राप्रपा महाधिवेशनबाट १४९ जनाको केन्द्रीय समिति बन्नेछ। अध्यक्षले बाँकी ५० जना केन्द्रीय सदस्य थप्न पाउने व्यवस्था हुँदा राप्रपाको केन्द्रीय समिति १९९ जनाको हुने छ।
राप्रपा पटक-पटक विभाजन भएर जुट्दै आएको पार्टी हो। पछिल्लो पटक २०७६ सालमा पार्टी एकीकरण भएपछि तीन जनाको अध्यक्षतामा सामूहिक नेतृत्व निर्माण गर्दै राप्रपा एकता महाधिवेशनमा गइरहेको छ।
राप्रपा हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र र संघीयता खारेजीको एजेन्डा बोकेर राजनीति गरिरहेको शक्ति हो।
पहिले गणतान्त्रिक धार बोक्ने समूह पनि अहिले हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा आइसकेको छ।