नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता शेखर कोइराला स्वत: केन्द्रीय सदस्य भएका छन्।
कोइरालालाई अब सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरिराख्नु पर्दैन।
कांग्रेसको विधानले नै सभापति पछि सबैभन्दा बढी मत ल्याउने दोस्रो व्यक्ति कार्यसमितिको स्वत: सदस्य रहने व्यवस्था गरिदिएको छ।
विधानको यही व्यवस्थाअनुसार कोइराला केन्द्रीय सदस्य भइसकेका छन्।
देउवा २७३३ मतसहित सभापति निर्वाचित भएका थिए भने कोइरालाले १८५५ मत ल्याएका थिए।
कांग्रेस विधानको धारा ६५ मा ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापति पछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ’ भन्ने उल्लेख छ।
विधानको यो व्यवस्थाअनुसार कांग्रेसका वडादेखि केन्द्रसम्मका सबै संरचनामा निर्वाचित सभापतिभन्दा कम मत प्राप्त गरेको व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ।
कांग्रेसले हालै १४ औं महाधिवेशन गरेको छ। अहिलेसम्म पदाधिकारीको मात्रै मतगणना सकिएको छ भने केन्द्रीय समिति सदस्यको मतगणना सकिएको छैन।
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल यसपालि महाधिवेशनमा सक्रिय भूमिकामा देखिएनन्। उनी मतदान गर्न पनि महाधिवेशन स्थल गएका थिएनन्। महाधिवेशनको प्रक्रियामा बाहिर नै रहने पौडेलको भनाइ छ।
सभापति देउवाले अब केन्द्रीय समितिमा ३३ जना मनोनित गर्न सक्छन्। कांग्रेस विधानको धारा २१ को १० मा लेखिएको छ, ‘कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्नेछ’ भन्ने उल्लेख छ।
यसपालि केन्द्रीय समितिमा पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सभापतिमा पराजित विमलेन्द्र निधि, प्रकाशमान सिंह, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, महामन्त्रीमा पराजित प्रकाशशरण महत, मीनेन्द्र रिजाल, प्रदीप पौडेललगायत पनि पर्ने सम्भावना छ।
यस्तै कोषाध्यक्ष सीतादेवी यादव पनि अहिलेको केन्द्रीय समितिमा मनोनित हुने सम्भावना छ। यादव १३ औं महाधिवेशनमा कोषाध्यक्ष निर्वाचित भएकी थिइन्। यसपालि भने कांग्रेसले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था गरेको छ।
कांग्रेस नेता बालकृष्ण खाणले सभापति देउवाले सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन्।
उनले देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता रहेकोले पार्टी आगामी दिनमा सहज र सुदृढ ढंगले अघि बढ्ने विश्वास गरेका थिए।
‘पार्टी सभापति तथा पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेताहरूलाई केन्द्रीय समितिमा समेटेर लैजाने पार्टीमा पहिलेदेखिकै परम्परा छ,’ उनले भने।
कांग्रेसमा १६६ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ।