नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलकी महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्।
उनी २५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा विजयी भएकी हुन्। उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन्। पन्त शेखर कोइराला समूहकी हुन्।
सहमहामन्त्रीमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उपाध्यायले अर्को पटकदेखि आफू महिला कोटामा उम्मेदवार नहुने घोषणा गरेकी छन्।
'समावेशिताका लागि हामीले आरक्षण चाहिन्छ भनेर आवाज उठाएका हौं। अघिल्लो महाधिवेशनमा म खुलाबाट उठ्दा पराजित भएँ,' उनले भनिन्,'त्यही भएर यसपालि महिला कोटामा उम्मेदवार बनेकी हुँ। अब अर्को पटक म महिला कोटाबाट उम्मेदवार नबन्ने घोषणा गर्छु।'
कांग्रेसको विधानमा पदाधिकारीमै एक तिहाइ महिला राख्न आफूहरूले माग गरेको भए पनि त्यो पूरा हुन नसकेको उनले बताइन्।
उनले आरक्षण केही समयका लागि चाहिने भए पनि महिलाहरूलाई खुला प्रतिष्पर्धामा पनि सक्षम बनाउन आफूले काम गर्ने बताइन्।
अहिले पार्टी कार्यालय सानेपामा दलित र आदिवासी-जनजातिको मतगणना भइरहेको छ।
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। तीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना हुनेछ।
बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्य क्लस्टरका सहमहामन्त्रीको मतगणना शुक्रबार हुने निर्वाचन समितिले जनाएको छ।
कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।