नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रोपटक सभापति निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रोपटक सभापतिको कुर्सीमा पुगेका छन्।
अन्तिम परिणामअनुसार देउवाले २७३३ मत ल्याएका छन् भने कोइरालाले १८५५ मत ल्याएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेकामा ३५ बदर भएका थिए।
अघिल्लो महाधिवेशनमा जस्तै यसपालि पनि सभापतिमा निर्वाचित हुन देउवाले दोस्रो चरणको मतदानसम्म कुर्नुपर्यो। आफ्नै समूहका नेता विमलेन्द्र निधि सभापतिको उम्मेदवार बनेपछि देउवाले सुरूआती चरणबाट जित निकाल्न सकेनन्। उनले दोस्रो चरणमा विजयी हुन निधिलाई मात्र होइन, सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहको पनि साथ लिनुपर्यो।
तेह्रौं महाधिवेशनमै देउवाले निधिलाई भावी सभापतिका रूपमा छोडिदिने ‘बाचा’ गरेका थिए। तर, अन्तिममा देउवा आफैं दोहोरिन खोजेपछि निधि उनीसँग चिढिएर आफैं सभापतिको उम्मेदवार बने। निधिको साथ हुन्थ्यो भने देउवाले पहिलो चरणको निर्वाचनबाटै सभापति जित्थे।
पहिलो चरणमा पाँच जना उम्मेदवारमध्ये देउवाले २२५८ मत ल्याएका थिए। कोइराला १७०३ मत ल्याएर दोस्रो भएका थिए भने अन्य उम्मेदवारमध्ये सिंहले ३७१, निधिले २५० र कल्याणकुमार गुरूङले २२ मत ल्याएका थिए।
दोस्रो चरणको मतदानमा जित निकाल्न देउवाले मंगलबार बिहानै सिंह र निधि दुवैसँग वार्ता गरे। दुवैका घर-घर धाए र दुवैलाई मनाए पनि।
देउवाले आफ्नो पाचौंपटकको प्रधानमन्त्रीकालमा पार्टीको सभापतिमा दोस्रोपटक आफूलाई जिताएका हुन्।
देउवा डडेलधुरा जिल्लाको साबिक असिग्राम गाविस वडा नम्बर ५ मा जन्मेका थिए। उनले प्राथमिक शिक्षा डडेलधुराकै असिग्राम प्राथमिक विद्यालयमा लिएका थिए भने निम्न माध्यमिक शिक्षा महेन्द्र मावि र माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीमा लिए। स्कुल पढ्दा नै देउवा कांग्रेसको राजनीतिसँग नजिक हुन थालेका थिए।
एसएलसी दिएपछि डडेलधुराबाट २०२१ सालमा काठमाडौं आएर उनी त्रिचन्द्र कलेज भर्ना भए। आइए परीक्षा चलिरहँदा एकपटक उनले उत्तरपुस्तिका ढिलो पाए। यही विषयलाई लिए त्रिचन्द्रका शिक्षकहरूसँग उनको झगडा पर्यो। त्यो निहुँमा देउवालाई प्रहरीले समातेपछि कांग्रेस र नेविसंघभित्र उनको चर्चा हुन थाल्यो।
त्यसपछि उनी कांग्रेस र पञ्चायती शासनको नजरमा एकैपटक परे। समय-समयमा पक्राउ पर्ने छुट्ने भइरहन्थ्यो।
कांग्रेसका नेताहरूसँग सम्पर्क बढाउन उनी पञ्चायत कालमै बिपीलाई भेट्न बनारस गए। बिपीको आशीर्वाद पाएका देउवा पञ्चायतकालमै २०२८ सालमा नेपाल विद्यार्थी संघको सभापति बने।
विद्यार्थी राजनीतिबाट हुर्किएपछि बिपीले देउवालाई सुदूरपश्चिममा पार्टीको काममा खटाए। उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेल्धुरा आइपुगेका थिए। खुला तरिकाले हिँड्दा पक्राउ पर्ने डर हुन्थ्यो, त्यसैले उनी लुकीलुकी आफ्नो गृहजिल्ला पुगे र पश्चिम नेपालमा कांग्रेसका लागि काम गर्न थाले।
२०४६ मा नेपाली कांग्रेसले पहिलो जनआन्दोलन छेड्दा देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको ‘फेलोसिप’ मा पढ्न गएका थिए। २०४७ सालमा जनाअन्दोलन सफल भएपछि उनी काठमाडौं आए।
२०४८ को पहिलो आमनिर्वाचनमा कांग्रेस नेतृत्वले देउवालाई सुदूरपश्चिमको कमान्डर बनाएर पठायो। आमनिर्वाचनमा सेती-महाकालीका अञ्चलका १९ निर्वाचन क्षेत्रमध्ये १८ क्षेत्रमा कांग्रेसले विजय प्राप्त गर्यो। पार्टीलाई चुनाव जिताएपछि देउवा पश्चिमका नेता बने। २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री बने।
त्यसयताका तीन दशकमा देउवाको राजनीतिमा धेरै उतारचढाव आए तर उनको राजनीति ‘ब्याक गियर’ मा गएको छैन।
गृहमन्त्री बनेको पाँच वर्षभित्रै देउवा प्रधानमन्त्री बने। २०५१ मा आन्तरिक किचलोका कारण गिरिजाप्रसाद कोइरालाले आफ्नो बहुमत रहेको संसद बिघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका थिए। उक्त निर्वाचनपछि कोइरालाले शेरबहादुरलाई आफ्नो उत्तराधिकारीका रूपमा अघि सारे र देउवा नेपाली कांग्रेस संसदीय दलको नेतृत्वमा निर्वाचित भए। एमालेको अल्पमत सरकार ढालेर देउवा मुलुकको प्रधानमन्त्री बने।
२०५७ सालको पोखरा महाधिवेशनमा देउवा कोइरालाविरूद्ध नै सभापतिमा उठेका थिए तर उनी पराजित भए।
चर्किँदो माओवादी द्वन्द्व, राजा र सेनाको असहयोग र एमालेको ५७ दिनसम्मको संसद घेराउबाट बाध्य भएर गिरिजाप्रसादले २०५८ असारमा राजीनामा दिएपछि देउवा फेरि नेपाली कांग्रेस संसदीय दलको उम्मेदवार बने। संसदमा पार्टीको बहुमत थियो। देउवा दोस्रोपटक प्रधानमन्त्री भए।
प्रधानमन्त्री बनेको ६ महिना नपुग्दै गिरिजाप्रसादले उनलाई हटाउन हस्ताक्षर अभियान सुरू गरे। कांग्रेसमा फेरि सत्ता संघर्ष चुलियो। देउवाले पार्टीको सहमतिबिना संकटकाल घोषणा गरे। संसद तथा स्थानीय निकाय विघटन गरेर आमनिर्वाचन घोषणा गरे।
त्यसपछि नेपाली कांग्रेसले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्यो। देउवा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति बने।
तोकिएको मितिमा चुनाव गराउन नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्रले अक्षम घोषणा गर्दै उनलाई बर्खास्त गरे। त्यसको लगभग साढे एक वर्षपछि फेरि उनलाई ज्ञानेद्रले प्रधानमन्त्री नियुक्त गरे। प्रतिगमन ‘आधा सच्चिएको’ भन्दै देउवाको नेतृत्वमा एमालेसहितका पार्टी सरकारमा गए।
२०६१ माघ १९ गते ज्ञानेन्द्रले ‘शाही कू’ मार्फत देउवालाई दोस्रोपटक अपदस्त गरेर सत्ता हातमा लिए। ‘शाही कू’ पछि देउवालाई प्रजातन्त्र दुईपटक दरबारमा बुझाएको आरोप लाग्यो।
गिरिजाप्रसाद माओवादीलाई साथ लिएर ज्ञानेन्द्रविरुद्ध जनान्दोलनको तयारी गर्दै थिए। संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद फेरि एकपटक नेपाली राजनीतिमा छाए। देउवा कोइरालासँग पार्टी एकीकरण गरेर माउ पार्टीमै फर्किए।
यसरी प्रधानमन्त्री र पार्टी विभाजित गरेर सभापति बने पनि नेपाली कांग्रेसकै सभापतिको कुर्सीमा बस्ने उनको इच्छा भने १३ औं महाधिवेशनमा पूरा भयो जब उनले रामचन्द्र पौडेललाई दोस्रो चरणमा पराजित गरे।
तिनै देउवा यसपालि १४औं महाधिवेशनमा शेखर कोइरालालाई हराएर दोस्रोपटक सभापतिको कुर्सीमा पुगेका छन्।