कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदमा भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाले अग्रता लिएका छन्।
तीन सय मत गन्दा देउवा १७४ मत ल्याएर अगाडि छन् भने उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १२४ मत पाएका छन्।
दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ।
दोस्रो चरणको निर्वाचनमा ४५६२ मत खसेको निर्वाचन समितिले जनाएको छ। यो पहिलो चरणको निर्वाचनमा खसेको मतभन्दा ११९ ले कम हो।
पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो भने ७६ मत बदर भएको थियो।
पहिलो चरणको निर्वाचनमा सहभागी भएका पाँच जना उम्मेदवारमध्ये देउवाले २२५८ मत ल्याएका थिए। कोइरालाले १७०३ मत ल्याएर दोस्रो भएका थिए।
अन्य उम्मेदवारमध्ये कल्याणकुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० मत ल्याएका थिए।
पहिलो चरणको निर्वाचनमा आवश्यक बहुमत कसैको नपुगेपछि दोस्रो चरणको निर्वाचन गरिएको थियो। दोस्रो चरणको निर्वाचनमा कोइराला एक्लै छन् भने देउवा समूहमा उनीसँगै सिंह, निधि र गुरूङ एक भएका छन्।