नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरू भएको छ।
निर्वाचन समितिका अनुसार मंगलबार राति करिब साढे ११ बजेबाट गणना सुरू भएको हो। दोस्रो चरणमा पनि सभापतिका लागि मत खसाल्न तीनवटा ड्रम प्रयोग गरिएका थिए। ती तीनवटा ड्रममा खसेका मत तीनवटा ठाउँमा एकैचोटि गन्न लागेको समितिले जनाएको छ।
समितिका अनुसार सबै मत गनिसक्न करिब तीन घन्टा लाग्ने छ।
यसअघि साढे १० बजेबाट गणना सुरू गर्ने भनिएको थियो। सभापतिका प्रत्यासी शेखर कोइरालाको प्रतिनिधि आउन ढिलाइ भएकाले गणना ढिलो सुरू भएको हो।
पहिलो चरणको निर्वाचनमा सहभागी भएका पाँच उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि मंगलबार दोस्रो चरणको निर्वाचन गरिएको थियो।
दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ।
दोस्रो चरणको निर्वाचनमा ४५६२ मत खसेको निर्वाचन समितिले जनाएको छ। यो पहिलो चरणको निर्वाचनमा खसेको मतभन्दा ११९ ले कम हो। पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो भने ७६ मत बदर भएका थिए।
पहिलो चरणको निर्वाचनमा सहभागी पाँच जना उम्मेदवारमध्ये देउवाले २२५८ मत ल्याएका थिए। कोइरालाले १७०३ मत ल्याएर दोस्रो भएका थिए। अन्य उम्मेदवारमध्ये प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरूङले २२ मत ल्याएका थिए।
पहिलो चरणको निर्वाचनमा आवश्यक बहुमत कसैको नपुगेपछि दोस्रो चरणको निर्वाचन गरिएको थियो।
दोस्रो चरणको निर्वाचनमा कोइराला एक्लै छन् भने देउवा समूहमा उनीसँगै सिंह, निधि र गुरूङ एक भएका छन्।