नेपाली कांग्रेसको सभापति पदका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचन भर्खरै सकिएको छ।
पहिलो चरणमा जस्तै दोस्रो चरणको निर्वाचनमा पनि तीन वटा ड्रम प्रयोग गरिएका थिए। तीन वटै ड्रम गणनास्थलमा ल्याएपछि साढे १० बजेबाट गणना सुरू हुने निर्वाचन समितिले जनाएको थियो। तर सभापतिका एक प्रत्यासी शेखर कोइरालाका प्रतिनिधि आउन ढिला भएकाले गणना अहिलेसम्म सुरू हुन सकेको छैन।
समितिका अनुसार गणना सुरू भएको दुई घन्टामा सकिने छ।
दोस्रो चरणको निर्वाचनमा ४ हजार ५ सय ६२ मत खसेको छ। यो पहिलो चरणको तुलनामा १ सय १९ मत कम हो। पहिलो चरणमा ४ हजार ६ सय ८१ मत खसेको थियो। कांग्रेसका महाधिवेशन प्रतिनिधि ४ हजार ७ सय ४३ जना छन्।
सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो।
पहिलो चरणमा पहिलो र दोस्रो धेरै मत ल्याउने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ।
सभापतिका अन्य दुई जना उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गरेका छन्।
हेर्नुहोस् गणनास्थलका ताजा तस्बिरहरू: