नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान सकिएलगत्तै मतगणना हुने भएको छ।
मंगलबार दिउँसो साढे ३ बजेदेखि सुरू भएको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ।
मतदान सकिएपछि राति १० बजेबाट मतगणना सुरू हुने महाधिवेशन प्रचार विभागका उपप्रमुख सुरेश आचार्यले जानकारी दिए।
आचार्यका अनुसार आज १० बजेदेखि ३-४ घन्टामा सभापतिको मतगणना सकिने भएको छ।
आज मतगणना सकिएपछि भोलि बुधबार आराम गरेर पर्सि बिहिबारदेखि अन्य पदको मतगणना हुने आचार्यले जानकारी दिए।
काठमाडौंको राष्ट्रिय सभागृहमा भइरहेको सभापतिको दोस्रो चरणको मतदानमा हालसम्म २००० मत खसिसकेको छ।
कांग्रेसमा सोमबार भएको पहिलो चरणका मतदानमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा पहिलो र दोस्रो धेरै मत ल्याउने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो।