नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति छान्न दोस्रो चरणको मतदान हुने भएको छ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा अहिले दोस्रो चरणको मतदान भइरहेको छ।
पहिलो चरणमा कांग्रेस सभापतिमा पाँच जना उम्मेदवार थिए। तीमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन्।
सबैभन्दा धेरै मत ल्याएका शेरबहादुर देउवाले २२५८ मत पाए। सोमबार भएको मतदान ४६७९ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
पहिलो चरणमा निर्वाचित हुन देउवालाई ८३ मत पुगेन। कांग्रेस विधानअनुसार दुईभन्दा बढी उम्मेदवार भए ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुन्छ।
यसअघि २०७२ पनि कांग्रेसको सभापति दोस्रो चरणको मतदानबाट टुंगो लागेको थियो। त्यतिबेला देउवालाई पहिलो चरणमै जित्न ११ मत कम परेको थियो।
१३ औं महाधिवेशनको पहिलो चरणमा ३,१४८ मत खसेको थियो। सभापति जित्न १५७५ मत ल्याउनु पर्ने थियो। देउवाले त्यतिबेला १५६४ मत ल्याएका थिए भने अर्का उम्मेदवार रामचन्द्र पौडेलले ११६० मत ल्याएका थिए। सभापतिका अर्का उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३२४ मत पाएका थिए।
पछि सिटौलाले देउवालाई साथ दिएपछि उनी पहिलो पटक कांग्रेस सभापति निर्वाचित भएका थिए।
यसपालि पनि तेस्रो र चौथो बढी मत ल्याउने प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणमा देउवालाई समर्थन दिएकाले आज हुने मतदानबाट उनी सभापति छानिने प्रबल सम्भावना छ।