काठमाडौंमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार दिएका कल्याण गुरूङले पनि दोस्रो चरणमा शेरबहादुर देउवा सघाउने भएका छन्।
पहिलो चरणमा २२ मत ल्याएका गुरूङले दोस्रो चरणमा देउवालाई सघाउने भएका हुन्।
उनले साथीहरूसँग सल्लाह गरेर चुनावमा पहिलो हुनेलाई नै समर्थन गर्ने निर्णय भएपछि देउवालाई सघाउने निर्णय लिएको बताए।
यसअघि सभापति सभापतिका दुई उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई सघाउने घोषणा गरिसकेका छन्।
सोमबार भएको निर्वाचनमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी मत पाएका थिए। उनले २२५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १७०२ मत प्राप्त गरेका थिए।
सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा ४७४३ मतदातामध्ये ४६७९ मतदाताले मतदान गरेका थिए। ७६ मत बदर भएको थियो। कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ।
पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो। अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ।