नेपाली कांग्रेसको सभापतिमा आफूलाई सघाउन शेरबहादुर देउवाले चौथो बढी मत ल्याएका विमलेन्द्र निधिलाई आग्रह गर्ने भएका छन्।
प्रधानमन्त्रीसमेत रहेका देउवाको सचिवालयले केहीबेरमा निधिलाई भेट्न देउवा उनकै निवासमा जान लागेको जानकारी दिएको छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति छान्न दोस्रो चरणको मतदान हुने भएको छ।
पहिलो चरणको मतपरिणाममा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन्।
प्रधानमन्त्रीसमेत रहेका सभापति उम्मेदवार शेरबहादुर देउवालाई पहिलो चरणमै जित्न झन्डै २ प्रतिशत मत अपुग भएको छ। देउवाले २२५८ मत पाएका छन्।
लामो समय देउवाको प्यानलमै रहेका र महाधिवेशनको मुखैमा छुट्टिएर सभापतिमा उम्मेदवारी दिएका विमलेन्द्र निधिले चौथो बढी मत ल्याएका छन्। देउवालाई पहिलो चरण ५० प्रतिशत कटाउन झन्डै ९० मत पुगेन भने निधिले २४९ मत ल्याएका छन्।
अर्थात् देउवालाई पहिलो चरणमा जित्नबाट निधिले रोकेका छन्।
चुनाव नजिकिँदै गर्दा देउवाको टिममा निधिले सय मत पनि नल्याउने आकलन थियो।
निधिले २/३ सय मत पाए चुनाव दोस्रो चरणमा जान सक्ने उनीहरूको अनुमान थियो तर उनले त्यति मत नपाउने भएकाले देउवाले पहिलो चरणमै जित्नेमा उनको टिम ढुक्क थियो।
प्रदेश २ का महाधिवेशन प्रतिनिधिहरू टुंगिएपछि त उनीहरू झन् धेरै ढुक्क भएका थिए। किनकी त्यहाँ निधि पक्षका प्रतिनिधि निकै थोरै आएका थिए।
प्रदेशहरूको चुनाव सकिँदा निधिले आफू जित्दिनँ भन्ने सायद आकलन गरिसकेका थिए। तर पहिलो चरणमा सभापतिको परिणाम आउँदैन भन्नेमा पनि उनी त्यत्तिकै विश्वस्त थिए।
मतदान हुनु अघिल्लो दिन पनि निधिले सभापतिको चुनाव दोस्रो चरणमा जाने र आफूले देउवाइतर समूहबाट जसले बढी मत ल्याउँछ उसैलाई सघाउने बताएका थिए।
पहिलो चरणको चुनाव निधिले भनेजस्तै भयो। देउवालाई पहिलो चरणमा दुई प्रतिशत मत पुगेन। दोस्रो चरणको चुनाव हुने भएको छ।