नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई पार्टी सभापतिमा समर्थन गरेका छन्।
आज आएको मतपरिणामअनुसार सभापति पदमा देउवाले धेरै मत ल्याएका थिए भने दोस्रो धेरै मत शेखर कोइरालाले ल्याएका थिए।
देउवाले २२५८ मत ल्याएका थिए भने कोइरालाले १७०२ मत ल्याएका थिए।
सिंह पनि पहिलो चरणमा सभापति पदका उम्मेदवार थिए। सिंहले ३७१ मत ल्याएका थिए।
आजै कांग्रेस सभापति पदका लागि दोस्रो चरणको मतदान हुने कार्यक्रम छ। आज अपरान्ह ३:३० बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जानकारी दिएको छ।
आफूहरूले दोस्रो चरणको मतदानमा सभापतिमा देउवालाई समर्थन गर्ने सिंहले बताए। सिंहलाई भेट्न देउवा आज उनकै निवास चाक्सीबारी ठमेल पुगेका थिए।
सिंहले सघाउने भएपछि देउवाले धन्यबाद दिएका थिए। ‘प्रकाशमानजीले सदासयता देखाउनुभयो, आत्मियता देखाउनुभयो,’ देउवाले भने, ‘वास्तवमा हामी पहिलेदेखि साथी नै हो। मैले प्रतिवद्धता तोड्ने छैन।’