काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन्।
निर्वाचन समितिका अनुसार अहिलेसम्म १७०० मत गणना भएको छ।
यो गणनामा देउवाले अग्रता कायमै राखेका छन्। देउवालाई कोइरलाले पछ्याइरहेका छन्।
मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।
कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत मत आवश्यक पर्छ। यो प्रतिस्पर्धा कायमै रहे पहिलो चरणमा सभापति पदमा कसैको ५१ प्रतिशत नपुग्न सक्छ।
कोइरालासहितका सभापतिका अन्य चार उम्मेदवारको मत जोड्दा देउवा पछाडि छन्। यो मतपरिणाम कायम रहे देउवाले सभापतिमा ५१ प्रतिशत पुर्याउन गाह्रो छ।
त्यसो हुँदा दोस्रो चरणमा मतदान गर्नुपर्ने हुन्छ। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणमा भिड्छन्। कम ल्याउने उम्मेदवारले जसलाई सहयोग गर्छन् उही सभापति निर्वाचित हुने छ।
कसले कति मत पाए?
- शेरबहादुर देउवा : ८११
- शेखर कोइराला : ६२६
- प्रकाशमान सिंह: १४९
- विमलेन्द्र निधि: ९७
- कल्याण गुरुङ : ६
- जम्मा गणना : १७००