नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाको प्रतिस्पर्धा चलिरहेको छ।
मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी छन्।
निर्वाचन समितिका अनुसार अहिलेसम्म १३०६ मत गणना भएको छ।
यो गणनामा देउवाले अग्रता कायमै राखे पनि उनलाई ५१ प्रतिशत पुर्याउन निकै कठिन देखिएको छ। देउवा ६२६ मतसाथ अगाडि छन्।
उनलाई कोइरालाले पछ्याइरहेका छन्। कोइरालाले ४८२ मत ल्याएका छन्।
सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले ७८, प्रकाशमान सिंहले १०२ र कल्याण गुरुङले ४ मत ल्याएका छन्।
मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्।
कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत मत आवश्यक पर्छ। यो प्रतिस्पर्धा कायमै रहे पहिलो चरणमा सभापति पदमा कसैको ५१ प्रतिशत नपुग्न सक्छ।
कोइरालासहितका सभापतिका अन्य चार उम्मेदवारको मत जोड्दा देउवा पछाडि छन्। यो मतपरिणाम कायम रहे देउवाले सभापतिमा ५१ प्रतिशत पुर्याउन गाह्रो छ।
त्यसो हुँदा दोस्रो चरणमा मतदान गर्नुपर्ने हुन्छ। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणमा भिड्छन्। कम ल्याउने उम्मेदवारले जसलाई सहयोग गर्छन् उही सभापति निर्वाचित हुने छ।