नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ।
मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन्।
निर्वाचन समितिका अनुसार अहिलेसम्म ८०३ मत गणना भएको छ।
यो गणनामा देउवाले अग्रता कायमै राखेका छन्। देउवा ३८७ मतसाथ अगाडि छन्।
उनलाई कोइरालाले पछ्याइरहेका छन्। कोइरालाले २९५ मत ल्याएका छन्।
सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले ४२, प्रकाशमान सिंहले ६६ र कल्याण गुरुङले ३ मत ल्याएका छन्।
मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्।