नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापतिका लागि मत खसालिएका तीनवटै ड्रम गणनास्थलमा ल्याइएका छन्। अब केही बेरमै सभापति पदको मतगणना सुरू हुनेछ।
सभापतिका उम्मेदवार विमलेन्द्र निधि र कल्याण गुरूङका प्रतिनिधि नहुँदा गणनामा केही समय ढिलाइ भइरहेको निर्वाचन समिति स्रोतले जानकारी दियो।
निर्वाचन समितिका अनुसार गणनास्थलमा सुरक्षाको निम्ति पाँचवटा सिसी क्यामरा पनि जडान गरिएका छन्।
तीन मतदान स्थलमा सभापति पदका लागि एक-एकवटा ड्रमलाई मतपेटिकाका रूपमा प्रयोग गरिएको थियो। सभापतिबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका मत बाकस सिलबन्दी गरेर अहिले सानेपा लगिँदैछ। यी सबै पदको मतगणना सानेपामै हुनेछ।
मतगणना सुरूमा सभापति पदको मात्रै हुने छ। कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी पुर्याउने व्यक्ति सभापति निर्वाचित हुनेछन्। तर ५० प्रतिशतभन्दा बढी मत ननाघेमा सभापतिका लागि दोस्रो चरणको मतदान हुनेछ।
पहिलो चरणमा बढी मत ल्याएका उम्मेदवार दोस्रो चरणको चुनाव लड्न पाउँछन्। कम मत ल्याएका उम्मेदवारले जसलाई समर्थन गर्छन् त्यही व्यक्ति सभापतिमा चुनिनेछन्।
सोमबार बिहान ११ बजेबाट सुरू मतदान राति साढे ११ बजे सकिएको थियो। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। निर्वाचन समितिले यसबारे औपचारिक जानकारी भने दिएको छैन।
महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जना उठेका छन्।