नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सोमबार बिहान ११ बजेबाट सुरू मतदान अहिले राति साढे ११ बजे सकिएको छ।
मतदान सकिएपछि उम्मेदवारका प्रतिनिधिहरूले मुचुल्कामा हस्ताक्षर गरेर मत बाकस सिलबन्दी गरिएका छन्। त्यसपछि सुरक्षाकर्मीहरूले मत बाकस बोकेर गणना स्थलतर्फ लगेका छन्।
यसअघि साढे १० बजेसम्म मतदान गर्ने भनिएकोमा एक घन्टा समय थपिएको थियो। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। निर्वाचन समितिले यसबारे औपचारिक जानकारी भने दिएको छैन।
मतगणना आजै रातिबाट सुरू हुनेछ। मतगणना सुरूमा सभापति पदको मात्रै हुने छ। कुल खसेको मतको ५१ प्रतिशत पुर्याउने व्यक्ति सभापति निर्वाचित हुनेछन्। तर ५१ प्रतिशत मत नपुगेमा सभापतिका लागि दोस्रो चरणको मतदान हुनेछ।
पहिलो चरणमा बढी मत ल्याएका उम्मेदवार दोस्रो चरणको चुनाव लड्न पाउँछन्। कम मत ल्याएका उम्मेदवारले जसलाई समर्थन गर्छन् त्यही व्यक्ति सभापतिमा चुनिनेछन्।
महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जना उठेका छन्।