राजधानीमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज भइरहेको मतदानको समय पुनः १ घन्टा थप गरिएको छ।
बिहान ११ बजेदेखि सुरू भएको मतदान राति साढे ११ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।
अहिलेसम्म ४५ सय भन्दा बढी मत खसेको जनाइएको छ । मत खसाल्ने स्थानमा लाइन सकिएको छ ।
यसअघि निर्वाचन समितिले राति साढे १० बजेसम्म मतदान हुने सूचना जारी गरेको थियो। तर, अब राति राढे ११ बजेसम्म मतदान हुने निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए।
राति साढे ११ बजेसम्ममा मतदान सकिने आशा राखिएको उनले बताए। कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाताले सहभागिता जनाउँदैछन्।
महाधिवेशनमा सभापतिका लागि पाँच जनाले प्रतिस्पर्धा गरिरहेका छन्। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उठेका छन्।
मतदान सकिएपछि मुचुल्का उठाएर राति नै मतगणना सुरू गरिने समितिले जनाएको छ। मतगणना सुरूमा सभापति पदको मात्रै हुने छ।
कुल खसेको मतको ५१ प्रतिशत पुर्याउने व्यक्ति सभापति निर्वाचित हुन्छन्। तर, ५१ प्रतिशत मत नपुगेमा सभापतिका लागि दोस्रो चरणको मतदान हुनेछ।
पहिलो चरणमा बढी मत ल्याएका उम्मेदवार दोस्रो चरणको चुनावमा लड्न पाउँछन्। कम मत ल्याएका उम्मेदवारले जसलाई समर्थन गर्छन् त्यही व्यक्ति सभापतिमा चुनिनेछन्।