नेपाली कांग्रेसमा आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवार दिएका बिमलेन्द्र निधीले पहिलो चरणमा नतिजा नआउने बताएका छन्।
सोमबार भृकुटीमण्डपमा मतदान गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निधीले आफूले पहिलो चरणमा चुनावी नतिजा आउनसक्ने सम्भावना नदेखेको बताए।
‘पहिलो चरणमा चुनावी नतिजा आउँदैन। यदि दोस्रो चरणमा चुनाव भए पहिलोमा आएको परिणाम अनुसार अगाडि बढ्छु’, उनले भने।
आफूलाई मत हाल्न झन्डै एक घन्टा लागेकोसमेत निधिले जानकारी दिए। मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिए।
निधीसँगैसँगै शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ सभापतिको दौडमा छन्। कुनै पनि सभापतिका एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुने कांग्रेस विधानमा उल्लेख छ।
बिहान ८ बजेदेखि मतदान सुरू हुने कार्यतालिका भए पनि समयमै मत पत्र नआएपछि करिब साढे तीन घन्टा ढिलो गरि मतदान सुरू भएको हो।