नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले पार्टीको १४ औं महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार बन्न नपाएकोमा दु:खी नभएको बताएका छन्।
सोमबार कांग्रेसको नयाँ नेतृत्वको लागि मतदान गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै खाणले पहिलो चरणबाटै सभापतिमा शेरबहादुर देउवा विजयी हुने आफ्नो अनुमान रहेको बताए।
देउवा समूहबाट खाण महामन्त्रीका दाबेदार थिए। अन्तिम समयमा देउवाले प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला समूहमा रहेका केन्द्रीय सदस्य प्रदीप पौडेललाई महामन्त्रीका उम्मेदवार बनाएका छन्।
खाणले सिटौलालाई देउवा समूहमा ल्याउन आफूले नै जोड गरेको उल्लेख गर्दै महामन्त्री उम्मेदवार नबनेको कुराले दु:खी नभएको बताएका हुन्।
उनले मतदान गर्न आधा घन्टा समय लागेका पनि जानकारी दिए।
‘१५ औं महाधिवेशनबाट विद्युतीय भोटिङ मेसिन प्रयोग गर्छौं,’ खाणले भने।