प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेपछि फोटो पत्रकारले कांग्रेस महाधिवेशन स्थलमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्।
साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए।
प्रहरीले केही फोटो पत्रकारलाई लछारपछारसमेत गरेको छ। पत्रकारलाई भित्र छिर्न नदिनुका साथै हातपात र दुर्व्यवहार गरेपछि फोटोपत्रकारहरू आन्दोलित भएका हुन्।
उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्।
फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन्। त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन्।
अहिले महाधिवेशन स्थलमा उपस्थित भएका पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएर बसिरहेका छन्। उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।
तस्बिरहरू: निशा भण्डारी