राजधानीमा जारी नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेबाट मतदान हुने भनिए पनि ढिलो भएको छ।
प्रतिनिधिहरू बिहान साढे ७ बजेदेखि नै लामबद्ध भएका छन्। उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन्। मतपत्र छाप्न ढिला हुँदा समयमै मतदान सुरू हुन नसकेको निर्वाचन समितिले जनाएको छ।
करिब ११ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए। अहिले मतपत्रमा हस्ताक्षर भइरहेको छ।
यसैबीच लाइनमा उभिएका मतदातासँग उम्मेदवारहरु भोट माग्न व्यस्त छन्। सभापतिका उम्मेदवार शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंहसहितका उम्मेदवारहरू मतदानस्थलमा उपस्थित भएर भत मागिरहेका छन्।
प्रतिनिधि मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन्। निर्वाचनमा कागजी मतपत्र नै प्रयोग गरिएको छ।
महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। सात घण्टाभित्र मतदान सकिने घिमिरेको अनुमान छ।
राष्ट्रियसभा गृह र भृकुटीमण्डपका दुई स्थानमा मतदान हुँदै छ। प्रत्येक ठाउँमा विभिन्न तहका २९ वटा मतपत्र र २९ वटा बाक्सा हुनेछन्।