नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले आफू थाकेर नभई बलियो कांग्रेसलाई खुन दिन पार्टी एकता गरेको बताएका छन्।
शुक्रबार कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै जय नेपालको नारालाई देशव्यापी बनाउन आफू पुनः पार्टीमा फर्किएको धारणा राखे।
उनले नेता कार्यकर्तालाई स्वस्थ्य लोकतान्त्रिक प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्। ‘अस्वस्थ प्रतिस्पर्धा नगर्नुस्। म पनि स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन पहल गर्छु। एकताबद्ध भएर कांग्रेसमा आएको छु,’ उनले भने।
पार्टीमा मेलमिलाप र सहमतिको वातावरण बनाउनुपर्ने गच्छदारको धारणा छ। उनले कांग्रेसलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताएका छन् ।
उपसभापति गच्छदारले आफू २०४८ सालको झापा अधिवेशनदेखि पोखरामा सम्पन्न १०औँ महाधिवेशनसम्म सहभागी रहेको बताउँदै झापा अधिवेशनमा अहिलेजस्तो प्रतिस्पर्धा नभएको स्मरण गरे।
तत्कालिन नेतात्रयहरु गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादमध्ये एकले भट्टराईको नाम लिएपछि सर्वसम्मत भएको स्मरण गर्दै त्यसपछिको समयमा पनि नेतात्रयको रुपमा आरएसएस रामचन्द्र, शैलजा र शेरबहादुर भन्ने गरिए पनि अहिले दुई जनामात्रै रहेको उनले बताए।
कांग्रेसको इतिहासको लामो व्याख्या गर्दै १०औं महाधिवेशनसम्म एकताबद्ध भएको कांग्रेस त्यसपछि विभाजित भएको बताउँदै त्यतिबेलाको पार्टीभित्रको विकृतिविरुद्ध एकताबद्ध भएर नयाँ पार्टी बनाएको बताए।