नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बिचमा एकता हुनु जरूरी रहेको बताएका छन्।
शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक पार्टीले एक्लै हिँड्ने अहंकार त्याग्नुपर्ने बताएका हुन्।
देशको परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन कांग्रेस, माओवादीलगायतका लोकतान्त्रिक पार्टीबीच गहिरो एकता हुन जरूरी रहेको उनले बताए।
‘यो परिवर्तनलाई संस्थागत गर्ने र देशलाई अग्रगति दिने सन्दर्भमा पनि हाम्रो बिचमा गहिरो एकता हुन जरूरी छ। कहिलेकाहीँ म सुन्छु पार्टी र साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ। एक्लै हिड्नुपर्छ हामीहरु भन्नुहुन्छ । होईन, हामी एक्लै हिँड्ने कुरा अहंकार कसैले पनि नगरौं। हामी मिलेरै हिँड्ने हो’, उनले भने, ‘हामीले राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र पनि हामीले एकता खोजिराख्नैपर्ने हुन्छ। र अहिले हामी जे सफलता भनेका छौँ, एकताबाट, गठबन्धनबाट प्राप्त भएको सफलता हो।’
उनले हालसम्म प्राप्त राजनीतिक सफलता एकता र गठबन्धनको परिणामस्वरुप प्राप्त भएको उल्लेख गर्दै एक्लै हिँड्ने अहंकार गर्न खोज्दा एक्लै हिँड्न खोज्नेको ओह्रालो यात्रा सुरू हुने बताए।
२०४६ सालको आन्दोलनको सफलता, शान्ति सम्झौताको सफलता, या २०६२/०६३ को सफलता सबै लोकतान्त्रिक राजनीतिक दलहरुको बिचमा भएको एकताको परिणाम हो। त्यसकारण एक्लै हिड्ने अहंकार गर्न खोज्दा जसले अहंकार गर्यो त्यसको ओरालो यात्रा सुरू भयो भन्नेकुरा नेपालको इतिहासले देखाएको छ’, उनले भने, ‘त्यसकारण म तपाईहरूसँग यो ऐतिहासिक महाधिवेशनमार्फत् सिंगो राष्ट्रलाई एकतावद्ध गर्ने, मुख्यत्ः लोकतान्त्रिक राजनीतिक दलहरुको बिचमा समझदारी कायम गर्ने र देशलाई सुशासन र विकासको नयाँ युगतिर लैजाने कुरामा देशको ठूलो पार्टीको नाताले पनि नेपाली कांग्रेसले उचित नीति निर्धारण गरोस् । नेतृत्व निर्धारण गरोस् ।’
कांग्रेसले लोकतान्त्रिक राजनीतिक दलको बिचमा समझदारी कायम गर्ने, सुशासन र विकासको युगतिर लैजाने सन्दर्भमा उचित नीति निर्धारण गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ।
अध्यक्ष प्रचण्डले पार्टीहरु सरकारमा जाँदा जनताको अगाडि गरेका प्रतिवद्धता अनुसार व्यवहार गर्न नसकेकाले यसको सम्बन्धमा सबैले आत्मसमिक्षा गर्नुपर्ने बताए। उनले पार्टीहरु सत्तामा पुगेपछि प्रतिवद्धताबाट विचलित हुने, भ्रष्टाचार रोक्न नसक्ने र विकृति र विसंगतिको शिकार हुने गरेकाले यस विषयमा सबैले खोजी गर्नुपर्ने बताए।
‘हामी सबैले सोच्नुपर्ने एउटा गम्भीर विषय के छ भने हामी एकल पार्टी सत्तामा जाँदा पनि वा संयुक्त रुपले सत्तामा जाँदा पनि हामीले आन्दोलनको बेलामा जनताको अगाडि जे प्रतिज्ञा र प्रतिवद्धता गरेका हुन्छौं। सत्तामा पुगेपछि हामीले त्यसै अनुसार व्यवहार गर्न सकेका छैनौं। हामी सबैले आत्मसमिक्षा गर्नुपर्ने विषय छ’, उनले भने, ‘एकल पार्टी सत्ता होस् या संयुक्त सरकार होस्। सत्ता सञ्चालनमा जाँदा हामी कहिँ न कहीँ धर्ति छोडेको जस्तो कहीँ न कहीँ आफ्ना ऐतिहासिक राजनीतिक प्रतिज्ञा र प्रतिवद्धता, जनताको अगाडि गरिएका, निर्वाचनको बेलामा गरिएका प्रतिवद्धताबाट विचलित भएका उदाहरणहरू छन्। नेपाली कांग्रेसका सबै नेता साथीहरु, युवा नेताहरु अझ खासगरी सबैले यसको समिक्षा गर्नु जरूरी छ।’
उनले सत्तामा पुगेपछि कहिँ न कहिँ नेतृत्व पंक्ति वा राजनीतिक दलहरु आफ्नो प्रतिज्ञा र प्रतिवद्धताहरु विचलित हुने गरेको बताए। ‘किन जनताले सोचेजस्तो गरी काम गर्न सक्दैनन् । किन सुशासन दिन सक्दैनन्। किन भ्रष्टाचार रोक्न सक्दैनन्। आन्दोलनमा त्यत्रो त्याग, तपस्या र बलिदान गर्न सक्ने पार्टीहरु सत्तामा पुग्दा किन सत्ता लिप्साबाट बिसंगति र विकृतिको शिकार हुन्छन् । मलाई लाग्छ, हामी सबैले खोजि गर्नुपर्ने विषय यही नै छ,’ उनले भने।
उनले लोकतन्त्रको निम्ति संघर्ष गरेका राजनीतिक दल र दलका नेताहरुलाई बद्नाम गरेर निरंकुशता र तानाशाही जन्माउने षड्यन्त्र गर्न लागिएको भन्दै त्यसका विरुद्ध सर्तक रहन जरुरी रहेको पनि बताए।