नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिएका छन्।
भृकुटीमण्डपमा शुक्रबारदेखि सुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल, ओली र नेपाल एक साथ देखिएका हुन्।
सुरूमै प्रचण्ड र नेपाल महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेका थिए। केपी ओली केही ढिलोगरी पुगेका थिए।
एमाले विभाजनपछि ओली, नेपाल र प्रचण्ड पहिलोपटक शुक्रबार कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका हुन्।ओली देउवा र रामचन्द्र पौडेलको बीचमा बसेका छन्।
गत १० मंसिरमा भएको एमालेको १०औं महाधिवेशनमा नेता नेपाल र उनको पार्टीलाई निमन्त्रण गरिएको थिएन। निमन्त्रणा गरिएको माओवादी केन्द्रबाट प्रचण्ड आफू नगएर लिलामणि पोखरेललाई पठाएका थिए।
एमाले महाधिवेशनमा नगएका प्रचण्ड र नेपाल कांग्रेस महाधिवेशनमा सहभागी हुने क्रममा ओलीसँग आमनेसामने भएका हुन्।